काठमाडाैँ । काठमाडौंमा श्रीगीता जयन्ती कार्यक्रम गीतामाताको आराधना र श्रीमद्भगवद्गीताको १८ अध्यायको पाठसँगै भव्य रूपमा सम्पन्न भएको छ। गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको तत्वावधानमा गीताप्रेस पुस्तक विक्री केन्द्र काठमाडौं र गीता परिवार नेपालको व्यवस्थापनमा आयोजना गरिएको यस कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वामी श्री रामसुखदासजी महाराजको सत्संगमा रहनुभएका वृन्दावन निवासी स्वामी श्री नवलरामजी महाराजको सान्निध्य र महामण्डलेश्वर स्वामी श्री आत्मानन्द गिरिजी महाराजको प्रमुख आतिथ्य रहेको थियो। साथै, पशुपतिनाथका मूल भट्ट श्री गणेश रावल भट्टज्यू र मानव सेवा आश्रमका संस्थापक डा। गोविन्द टण्डनज्यूको विशिष्ट आतिथ्य रहेको थियो।
कार्यक्रमका क्रममा श्रीमद्भगवद्गीताको प्रसिद्ध ग्रन्थ साधक सञ्जीवनी र श्रीमद्भागवतको जीवन उपयोगी ग्रन्थ जीवन सञ्जीवनी को नेपाली अनुवाद विमोचन गरियो। यी ग्रन्थहरु गीताप्रेस गोरखपुरबाट प्रकाशित सत्साहित्यको नेपाली भाषामा अनुवादित संस्करण हुन्।
गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालका अध्यक्ष श्री जय किसन सारडाज्यूको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्षज्यूले स्वागत मन्तव्य दिँदै गीताप्रेस नेपालको गतिविधि, सत्साहित्यको अनुवाद र विक्री वितरणको प्रगति तथा १८ पुराण नेपाली भाषामा प्रकाशित गराउने लक्ष्यबारे जानकारी गराउनु भयो। अध्यक्षज्यूका अनुसार हालसम्म श्रीमद्भागवत महापुराण, श्री शिवमहापुराण, श्री विष्णुपुराण, र श्रीमद्देवीभागवत महापुराण नेपाली भाषामा प्रकाशित भइसकेका छन्। आगामी दिनमा मत्स्यपुराण, लिङ्गपुराण, र शुक सुधा सागर नेपाली भाषामा प्रकाशन हुने बताइयो।
कार्यक्रमका प्रमुख अतिथि महामण्डलेश्वर स्वामी श्री आत्मानन्द गिरिजी महाराजले शुभकामना र मार्गदर्शन दिनुभएको थियो। कार्यक्रममा सहभागी महानुभावहरुलाई कार्यक्रम संयोजक श्री अनिल केडियाज्यूले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको संचालन डा। वासुदेवकृष्ण शास्त्रीज्यूले गर्नुभएको थियो।

यस अवसरमा विभिन्न धार्मिक संघ(संस्था, संस्कृत विद्याश्रम, गुरुकुल, बाल्मीकि संस्कृत विद्यापीठ लगायतका प्रतिनिधिहरु, धर्मगुरु, विद्वान, र विद्यार्थीहरुको उत्साहजनक उपस्थिति रहेको थियो।

