काठमाडौं । ग्राहकका लागि नयाँ योजना र सेवा ल्याउने क्रममा ग्लोबल आइएमई बैंकले यती एअरलाइन्ससँग सहकार्य गर्दै ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’ सार्वजनिक गरेको छ ।
राजधानीमा आयोजित कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले संयुक्त रूपमा यो कार्ड सार्वजनिक गरेका हुन् ।
यो नयाँ कार्डमार्फत ग्राहकले यती एअरलाइन्सको पहिलो टिकट खरिद गर्दा पूर्ण क्यासब्याक पाउने छन्, जसको अर्थ पहिलो उडान निःशुल्क हुनेछ । त्यसपछि पनि कार्ड प्रयोग गरेर टिकट खरिद गर्दा अधिकतम पाँच सय रुपैयाँसम्म १० प्रतिशत छुट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।
यो कार्ड यात्राका लागि मात्र नभई बैंकिङ्ग फाइदासमेत जोडिएको सेवा हो। ग्राहकले कार्ड जारी गर्दा एक सय बोनस प्वाइन्ट प्राप्त गर्नेछन्, जुन भविष्यमा छुट, पुरस्कार वा सेवा खरिदमा प्रयोग गर्न सकिनेछ । यस्तै, कार्ड प्रयोग गरेर POS मेसिन वा ई–कमर्स प्लेटफर्ममार्फत कारोबार गर्दा प्रत्येक एक सय रुपैयाँमा एक माइलेज प्वाइन्ट प्राप्त हुनेछ। यसले डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै ग्राहकलाई निरन्तर फाइदा दिनेछ ।
यात्रुका लागि थप सुविधासमेत समावेश गरिएको छ । कार्डबाहकले विमानस्थलमा प्राथमिकता प्राप्त गर्नेछन्, जसअन्तर्गत चेक–इन तथा बोर्डिङ प्रक्रिया छिटो हुनेछ। यती एअरलाइन्समार्फत यात्रा गर्दा कार्डबाहकले अधिकतम तोकिएको सीमा भन्दा पाँच किलोग्राम बढी लगेज लैजान सक्नेछन्, जुन सुविधा बारम्बार यात्रा गर्ने वा भारी सामान बोकेर यात्रा गर्ने यात्रुका लागि उपयोगी हुनेछ ।
ग्लोबल आइएमई बैंकका सीईओ सुरेन्द्रराज रेग्मीले यो सहकार्यले डिजिटल कारोबार र ग्राहक–मैत्री सेवा विस्तारमा मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । उनले बैंक सधैं प्रविधिमा आधारित नयाँ योजना ल्याउँदै आएको उल्लेख गरे । यती एअरलाइन्सका सीईओ सुवास सापकोटाले भने, ग्लोबल आइएमई बैंकसँगको सहकार्यबाट दुवै संस्थाका ग्राहक प्रत्यक्ष लाभान्वित हुने बताएका छन्। भविष्यमा अझ परिस्कृत सेवा ल्याउने प्रतिबद्धता उनले व्यक्त गरे ।
ग्लोबल आइएमई बैंकले पछिल्लो समय उत्कृष्ट सेवा प्रवाह गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू प्राप्त गरेको छ। ग्लोबल फाइनान्स तथा युरोमनीबाट २०२४ का लागि नेपालको उत्कृष्ट बैंक घोषित भएको बैंकले ७७ वटै जिल्लामा आफ्नो सेवा सञ्जाल विस्तार गरिसकेको छ। बैंकसँग ३५४ शाखा, ३८५ एटीएम, २०२ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत ११०० भन्दा बढी सेवा केन्द्रहरू छन् । यस बैंकले अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, कोरिया, खाडी मुलुकहरू लगायतका देशहरूबाट रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको छ ।
यती एअरलाइन्स नेपाली आकाशमा २६ वर्षदेखि सेवा दिँदै आएको वायुसेवा कम्पनी हो। हाल कम्पनीसँग ७ वटा एटीआर ७२ जहाज छन्, जसले मुलुकका प्रमुख सहरहरूसहित दुर्गम गन्तव्यहरूमा सेवा पुर्याइरहेको छ। यसको सहायक कम्पनी तारा एयरले नेपालका दुर्गम भेगहरूमा नियमित सेवा दिँदै आएको छ। यती एयरलाइन्स समूहले वार्षिक १० लाखभन्दा बढी यात्रुलाई सुरक्षित हवाई सेवा दिइरहेको छ ।
ग्लोबल स्काई क्लब कार्डले यात्रालाई स्मार्ट बनाउनुका साथै बैंकिङ सेवालाई थप लाभदायक बनाएको छ। यस कार्डमार्फत ग्राहकले एकैपटकमा टिकटको छुट, विमानस्थलमा विशेष सुविधा र डिजिटल कारोबारको फाइदा पाउँछन्। यो कार्ड केवल भुक्तानीको साधन नभएर होशियार यात्राको थालनी हो ।
FACEBOOK COMMENTS