काठमाडौं । ग्लोबल आईएमई बैंकको अधिकांश वित्तीय सूचकहरू अब्बल रहेको बैंक सञ्चालक समिति अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।
ग्लोबल आईएमई बैंकको १५औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष ढकालले ‘उत्कृष्ट बैंकिङ सबैका लागि’ भन्ने नारालाई आत्मसाथ गरेर बैंकलाई अगाडि बढाइएको बताउँदै सो कुरा बताएका हुन् ।
बैंक स्थापनाको १५ वर्षमा विभिन्न १८ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर तथा एक्विजिशन गरिएको र बैंकलाई बलियो बनाउन सकिएको उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का वरिष्ठ उपाध्यक्ष समेत रहेका बैंक सञ्चालक अध्यक्ष ढकाललाई बैंकले सम्मान समेत गरेको छ ।
उनलाई गभर्नर महाप्रसाद अधिकारीले सम्मान गरेका हुन् । सोही कार्यक्रममा ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीहरुलाई पनि सम्मान गरेका छन् ।
हाल बैंकको ३३.७५ अर्ब रुपैयाँ सेयरधनी कोष, २७४ अर्ब रुपैयाँ निक्षेप सङ्कलन र २६९ अर्ब रुपैयाँ कर्जा लगानी रहेको छ । ग्लोबल आइएमई बैंक आइतबारदेखि आफ्नो स्थापनाको १६औं वर्षमा प्रवेश गरेको हो ।
बैंकले ७६ वटा जिल्लामा रहेका आफ्ना २८७ शाखा, २६३ शाखारहित बैंकिङ सेवा, २५२ एटीएम, ४८ एक्स्टेन्सन काउन्टर र तीनवटा वैदेशिक सम्पर्क कार्यालयमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।
बैंकमा ३ हजार २०० जना भन्दा बढी कर्मचारी तथा २७ लाखभन्दा बढी ग्राहकहरु छन् ।
वार्षिकोत्सवका अवसरमा बैंकले मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापीरुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । बैंकले निःशुल्क स्वास्थ्य शिविरहरु, रक्तदान कार्यक्रम, छात्रवृत्ति वितरण तथा बैंकको अन्तर विभागीय खेलकुद प्रतियोगिताको आयोजना गरेको थियो ।
FACEBOOK COMMENTS