काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले विद्युतीय सवारी साधन (ईभी) चार्ज गर्न चार्जिङ स्टेशन स्थापना गरेको छ । बैंकले विश्व वातावरण दिवसको अवसर पारेर आफ्नो कर्पोरेट कार्यालय कमलादीमा चार्जिङ स्टेशन स्थापना गरेको हो ।
आज बिहीबार आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका सञ्चालक कृष्णप्रसाद शर्मा, नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रालिकी प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले संयुक्त रूपमा उक्त चार्जिङ स्टेशनको उद्घाटन गरे । गाडी चार्ज प्रालिसँगको सहकार्यमा बैंकले स्थापना गरेको सीसीटू सिङ्गल गनको ४० किलोवाट क्षमता छ ।
उक्त चार्जिङ स्टेशनमा बैंकमा सेवाका लागि आउने ग्राहक र बैंकका कर्मचारीहरूलाई आफ्नो ईभी गाडी चार्ज गर्न व्यवस्था गरिएको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोगकर्ता बढेसँगै बैंकमा आउने ग्राहकहरूको सवारी साधनलाई लक्षित गरी बैंकले चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको हो ।
उक्त कार्यक्रममा बैंकका सञ्चालक शर्माले बैंकले आफ्नो ग्राहकहरूको सुविधालाई मध्यनजर गरी वातावरणअनुकूल ईभी सवारी साधनको प्रवर्द्धनको एक पहलको रूपमा यस चार्जिङ स्टेशनको स्थापना गरेको जानकारी दिए । साथै, बैंकले आफ्नो व्यवसाय विस्तारसँगै वातावरणमैत्री उपायहरू अवलम्बन गरिरहेको समेत उल्लेख गरे ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्लोबल आईएमई बैंक वातावरण संरक्षण र उत्तरदायी बैंकप्रति प्रतिबद्ध रहेको बताए । उनले ग्लोबल आईएमई बैंकले आफ्नो १८औँ वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा १८ हजार बिरुवा रोपण गरिरहेको बताउँदै बैंकले वातावरणमैत्री प्रडक्टहरू ल्याएर वातावरण संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणमा काम गरिरहेको बताए । उनले ग्लोबल आईएमई बैंकले सञ्चालन गरेको ईभी चार्जिङ स्टेशन अन्य बैंक तथा वित्तीय संस्थाहरूले समेत अवलम्बन गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बैंकका उच्चपदस्थ कर्मचारी र गाडी चार्ज प्रालिका प्रतिनीधिहरूको उपस्थिति थियो ।
ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड २०२४’ तथा ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूबाट फरक–फरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले आफ्ना ३५४ शाखा कार्यालय, ३८५ एटीएम, २०२ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
FACEBOOK COMMENTS