काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरू प्रदान गर्ने गरी छुट्टै लाउन्ज ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ ।
आज आइतबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबिच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक जम्मा गर्ने मेशिन, नगद जम्मा गर्ने मेशिन र एटीएम मेशिन जस्ता अत्याधुनिक मेशिनहरू रहेको डिजिटल युनिभर्सको उद्घाटन गरे ।
‘डिजिटल युनिभर्सको सञ्चालनले डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्दै आम जनतालाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै ग्राहकहरूलाई सरल र सहज बैंकिङ सेवा प्रदान गर्न सहयोग पुग्नेछ,’ उद्घाटन समारोहमा अध्यक्ष ढकालले भने, ‘यो पहल ग्लोबल आईएमई बैंकको आफ्ना ग्राहकहरूलाई छिटो र सरल बैंकिङ सेवा प्रदान गर्ने निरन्तर प्रयासहरूको एक हिस्सा हो । हामीले आज लन्च गरको डिजिटल युनिभर्सको उद्देश्य अहिले विश्वव्यापीरूपमा भइरहेको डिजिटल बैंकिङतर्फको यात्रासँग मेल खान्छ ।’
आजको युगमा डिजिटल बैंकिङको महत्व बढ्दै गएको छ । डिजिटल बैंकिङले ग्राहकहरूलाई आफ्नो अनुकूल समयमा सुरक्षित र सहज बैंकिङ सेवा उपलब्ध गराउँछ । ग्लोबल आईएमई बैंकको डिजिटल युनिभर्सले यस डिजिटल रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकको छ ।
यस्ता नवीन बैंकिङ्ग प्रविधिहरू अंगालेर बैंकले आफ्ना ग्राहकहरूको बदलिँदो बैंकिङ आवश्यकताहरू मात्र पूरा गरेको छैन, डिजिटल नेपाल निर्माणको लागि आधार खडा गर्न उल्लेख्य सहयोग पुर्याएको छ । कार्यक्रममा बैंकका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकारीलगायत बैंकका उच्च व्यवस्थापनका कर्मचारीहरूको उपस्थिति थियो ।
FACEBOOK COMMENTS