काठमाडौं । ग्लोबल आइएमई बैंकको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा आएको ग्लोबल आइएमई सेक्युरिटिज लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
साधारणसभामा कम्पनीका प्रबन्ध सञ्चालक प्रवीना पाण्डेले सेयर बजारको उतार–चढाव, नियामक निकायका मार्गनिर्देशनहरू र लगानीकर्ताहरूको अपेक्षा बीच कम्पनीले उल्लेखनीय प्रगति हासिल गरेको जानकारी दिइन् ।
“पारदर्शिता, भरोसा र सेवा सुधारलाई प्राथमिकता दिँदै गत आर्थिक वर्ष २०८१/८२ मा हामीले उल्लेखनीय प्रगति हासिल गर्न सफल भएका छौं,” उनले भनिन् । साधारणसभाको अध्यक्षता कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले गरेका थिए ।
साधारणसभामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कम्पनीले हालसम्म हासिल गरेको उपलब्धिहरू प्रशंसनीय रहेको भन्दै भविष्यमा अझ प्रभावकारी काम गर्नुपर्नेमा जोड दिएका छन् ।
कम्पनीका अध्यक्ष पोखरेलले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने त्यसपछि साधारणसभामा प्रस्तावित एजेन्डा माथि छलफल, शेयरधनीका तर्फबाट उठेका जिज्ञासामाथि जवाफ र अन्ततः साधारणसभाका प्रस्तावहरू सर्वसम्मतिले पारित भएको छ ।
साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण साथै प्रबन्धपत्र र नियमावली संशोधनसम्बन्धी प्रस्तावहरू अनुमोदन गरेको छ ।
FACEBOOK COMMENTS