काठमाडौँ – ग्लोबल आईएमई बैंक लिमिटेडले दुई नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। बैंकले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ८, दाप्चा बजार र ताप्लेजुङको फाक्ताङलुङ गाउँपालिका– ३, सिन्वामा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
दुई नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै शाखारहित बैंकिङ सेवा संख्या २६२ पुगेको बैंकले जनाएको छ।
बैंकका अनुसार भकुण्डेबेसी शाखाअन्तर्गत रहने गरी दाप्चा बजारमा खोलिएको सेवाको लागि कृष्णकुमार श्रेष्ठ र ताप्लेजुङ शाखाअन्तर्गत रहने गरी सिन्वामा खोलिएको सेवाको लागि प्रेमप्रसाद निरौलालाई प्रतिनिधि नियुक्त गरिएको छ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्ने बैंकले बताएको छ। बैंकका अनुसार यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, रेमिट्यान्स सेवा लिने, डिशहोम र मोबाइल तथा टेलिफोनको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सकिने छ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेका यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि बैंकले शाखारहित बैंकिङ सेवा सुरु गरेको जनाइएको छ।
बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा २८२ शाखा, २५२ एटीएम, २६२ शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।
FACEBOOK COMMENTS