काठमाडौं । ग्लोबल आईएमई बैक लिमिटेडले यती एअरलाइन्ससँगको सहकार्यमा बैंकका ग्राहकहरुलाई हवाई यात्रा गर्दा विभिन्न सेवा सुविधा सहित ‘ग्लोबल स्काई क्लब कार्ड’ शुभारम्भ गरेको छ ।
काठमाडौंमा आइतबार आयोजित विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले संयुक्तरुपमा उक्त कार्डको अनावरण गरेका छन् ।
ग्लोबल स्काई क्लब कार्डवाहकहरुले यती एअरलाइन्सको हरेक हवाई टिकट खरिदमा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छुट पाउनुहुनेछ भने यो कार्डबाट पहिलो टिकट खरिदमा क्यासब्याक स्वरुप निःशुल्क टिकट पाइनेछ ।
यसका साथै, ग्लोबल स्काई क्लब कार्ड लिँदा १०० प्वाइन्ट बोनश प्राप्त हुनेछ । बोनश प्वाइन्ट विभिन्न छुट तथा सुविधाहरुका लागि प्रयोग गर्न सकिने बताइएको छ ।
ग्लोबल स्काई क्लब कार्डमार्फत पोस वा ई–कम बाट हुने कारोबारमा पनि प्रत्येक १०० रुपैयाँ बराबर १ माइलेज प्वाइन्ट प्राप्त हुनेछ ।
कार्डबाहक ग्राहकहरुले चेक–इन र बोर्डिङमा प्राथमिकताका साथै यात्रामा सामानको निर्धारित तौल भन्दा थप ५ केजी तौल लैजाने सुबिधा पनि पाउने छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले ग्लोबल आइएमई बैंक र यती एअरलाइन्सबीचको यस सहकार्यले डिजिटल कारोबार र ग्राहकमैत्री सेवा विस्तारमा सहयोग पुग्ने उल्लेख गरे ।
त्यसैगरी, यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले ग्लोबल आइएमई बैंकसँगको यस सहकार्यबाट बैंक र एअरलाइन्स दुवैका ग्राहक तथा सेवाग्राहीलाई सुविधा पुग्ने बताए ।
कार्यक्रममा ग्लोबल आइएमई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा यती एअरलाइन्सका अकाउन्टेबल म्यानेजर/चिफ बिजनेस अफिसर युवराज विष्टले एकआपसमा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै भविष्यमा दुई संस्थाबीच ग्राहक तथा सेवाग्राहीलाई सुविधा प्रदान गर्ने गरी थप सहकार्य हुने विश्वास व्यक्त गरे ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
त्यसैगरी, नेपालको अग्रणी हवाई संस्था यती एअरलाइन्सले विगत २६ वर्षदेखि अनवरतरुपमा यात्रुलाई सेवा दिँदै आइरहेको छ ।
हाल ७ वटा एटीआर विमानहरुबाट यतीले नेपालका सुगम क्षेत्रहरु लगायत पर्वतीय उडान मार्फत वार्षिक १० लाखभन्दा बढी यात्रुहरुलाई सेवा दिइरहेको छ ।
FACEBOOK COMMENTS