काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको जेबीएनएल सेक्युरिटीज लिमिटेडले सोमबारदेखि धितोपत्र कारोबार सम्बन्धी सेवा सुरु गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहबीच सो कम्पनीको उद्घाटन गरी टीएमएस मार्फत धितोपत्र खरिद सेवाको शुभारम्भ गरेका हुन ।
सो समारोहमा अध्यक्ष ढकालले धितोपत्र बजारको विकास र विस्तारसँगै मुलुकको आर्थिक गतिविधिमा समेत यो कम्पनीले महत्वपूर्ण भूमिका खेल्ने बताए । त्यसैगरी ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संस्थागत सुशासन, पूर्वाधार तथा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशनको पूर्ण परिपालनामा यो कम्पनी उदाहरणीय हुने बताए ।
समारोहमा ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कम्पनी सचिव विष्णुप्रसाद बास्कोटा, कम्पनीका सञ्चालकहरु लगायत बैंकको उच्च व्यवस्थापन तहका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोबारको लागि इजाजत प्राप्त यो कम्पनीको कार्यालय काठमाडौं महानगरपालिका वडा नं। १० नयाँबानेश्वर शंखमुलमार्गमा रहेको छ । नेपाल स्टक एक्सचेन्जले यसलाई सदस्य नम्बर ८९ प्रदान गरेको छ ।
FACEBOOK COMMENTS