चन्दा सङ्कलन गरेर २१ फिट अग्लो राममूर्ति निर्माण
कर्पोरट खबर
6:32 am, बिहीबार, चैत १४, २०८१
बैतडी । चैतः यहाँको दोगडाकेदार गाउँपालिका–६,पन्ज्युनयाँस्थित श्रीराम मन्दिरमा भगवान श्रीरामको २१ फिट अग्लो मूर्ति निर्माण गरिएको छ ।
देश तथा विदेशबाट गरेर पाँच लाख चन्दा सङ्कलन गरेर मूर्ति निर्माण गरिएको राममूर्ति निर्माण समितिका अध्यक्ष वीरसिंह कार्कीले जानकारी दिए । उनले भने, “देश तथा विदेशबाट चन्दा सङ्कलन गरेर २१ फिट अग्लो राममूर्ति निर्माण गरेका छौँ । मन्दिरको बाह्य रङरोगनलगायतका अन्य निर्माण कार्यहरू चलिरहेका छन् ।”
यही चैत २४ गते रामनवमीको दिन पारेर भगवान् श्रीरामको मूर्तिको औपचारिक उद्घाटन (प्राणपचिस्टा) गरिने समितिले जनाएको छ । यस अवसरमा परम्परागत रूपमा ठूलो मेला लाग्ने गर्छ, जसमा बैतडी, दार्चुलालगायत सुदूरपश्चिमका विभिन्न स्थानबाट भक्तजनहरूको सहभागिता हुने गरेको छ । धार्मिक रूपमा महत्वपूर्ण यस स्थलबारे स्कन्द पुराणमा समेत उल्लेख गरेको पाइन्छ ।
जमाडी र चौलानी नदीको सङ्गमस्थल बैतडीको साबिक ढिक क्षेत्र, हालको दोगडाकेदार गाउँपालिका, डिलासैनी गाउँपालिकाका साथै दार्चुलाको शैल्यशिखर नगरपालिका र लेकम गाउँपालिकाका भक्तजनहरूको आस्थाको केन्द्र रहेको यस स्थानमा परापूर्वकालदेखि नै रामनवमीका अवसरमा भव्य मेला लाग्दै आएको मूर्ति निर्माणका प्रस्तावक तथा समितिका सदस्य नैनसिंह गोयलाले जानकारी दिए । यहाँ तीर्थ, व्रत, विवाहलगायत विभिन्न धार्मिक तथा पैतृक कार्यहरू हुँदै आएका छन् ।
रामन्दिर क्षेत्रमा निकट भविष्यमा होमकुण्ड पनि निर्माण गर्ने योजना रहेको समितिका अध्यक्ष कार्कीले बताए । राममन्दिर क्षेत्र परिसर फराकिलो गर्न स्थानीय बलदेवसिंह कार्की, कृष्णसिंह कार्की, भानसिंह कार्की र गणेशसिंह कार्कीले जग्गादान गरे ।
FACEBOOK COMMENTS