काठमाडौं । साउन र देवताहरुका पनि देवता महादेवबीच गहिरो सम्बन्ध छ । साउन महिना भगवान शिवलाई अत्यन्त प्रिय छ ।
हरिशयनी एकादशी अर्थात आषाढ शुक्ल एकादशीमा भगवान् विष्णु क्षीर सागरमा सुतेपछि हरिबोधिनी एकादशीसम्म भगवान् शिवले सृष्टि सञ्चालनको जिम्मा लिन्छन् ।
त्यस्तै, सूर्य पनि साउनबाट नै दक्षिणतर्फ ढल्किन थाल्छन् अर्थात् साउनबाट दक्षिणायन सुरु हुन्छ । त्यसैले यस समयमा ग्रहहरु कमजोर हुनुका साथै वर्षाका कारण विभिन्न रोगव्याधिले संक्रमण लाग्ने सम्भावना भएकाले पनि भगवान् शिवको आराधना गर्दै ब्रत बस्ने चलन छ ।
साउनमा हिन्दूहरु शिवको मन्दिरमा गएर भगवान् शिवप्रति श्रद्धा अर्पण गर्दछन् । साउनको सोमबार शिवभक्तहरु ब्रत बस्ने गर्दछन् । साउनको सोमबार शुद्ध हृदयले ब्रत बसेर भगवानको पूजा आराधना गरेमा अन्य दिनको तुलनामा कयौं गुणा फल प्राप्त हुने शिवपुराणमा उल्लेख छ ।
पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट शुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ । तर यस पटक भने चार सोमबार रहेका छन् । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गरिन्छ ।
साउने सोमबार व्रत विधि:
साउनको सोमबार दिनभर निराहार भएर व्रत बस्ने गरिन्छ । बिहान स्नानादि नित्य कर्म सकेर व्रतको संकल्प गर्नुपर्छ । त्यसपछि घरमै अथवा शिवमन्दिरमा गएर गंगाजल, बेलपत्र, सुपारी, फूल, धतुरो, भाङ आदिले भगवान् शिवको पूजा गरिन्छ ।
विधिपूर्वक पूजा सम्पन्न गरेपछि व्रत कथा सुन्ने चलन पनि छ । साथै, व्रत बस्नेले शिवको मन्त्र जप पनि गर्दछन् । साउनको सोमवार व्रत बस्नाले वर्षभरिको सोमवार व्रत बसेको पुण्य मिल्ने पुराणहरुमा उल्लेख छ ।
व्रत बसेकाले दिनको तेस्रो प्रहर सकेपछि अथवा साँझ शिवको आरति गरेपछि भोजन गर्ने परम्परा छ । यसरी साउनको पहिलोदेखि अन्तिम सोमवारसम्म व्रतको पालना गर्न सकिन्छ । साउनमा मात्र नभएर शिवसँग सम्बन्धित हरेक व्रत तीन प्रहर नै बस्ने गरिन्छ ।
सोमबार निषेधित कार्यः
साउनको सोमबार व्रत नबसे पनि कुनै पनि अनैतिक कार्यबाट टाढा रहनुपर्छ, गलत विचार र आचरणबाट टाढा रहनुपर्छ, ब्रह्मचर्यको पालना गर्नुपर्छ । साउनको सोमबार छिटै उठेर भगवान् शिवको ध्यान गर्नुपर्छ । ठूलालाई सम्मान गर्नुपर्छ भने कुनै पनि असहायको अवहेलना गर्नुहुँदैन । साउनमा मांस मदिराबाट टाढा रहनुपर्छ । यसले जीवहत्याको पाप लाग्नुका साथै तन, मन पनि अशुद्ध हुन्छ ।
साउन हरियालीको मौसम हो, हरियाली शिवजीलाई अत्यन्त मन पर्छ, त्यसैले साउनमा रुखबिरुवा काट्नु अशुभ मानिन्छ ।
किन व्रत बसिन्छः
पौराणिक मान्यता अनुसार सोमबारको व्रत बस्नाले चन्द्र ग्रह सबल हुन्छ । चन्द्र सबल भएमा इच्छाइएका सम्पूर्ण शुभभाव पूरा हुन्छन् । यसबाट फोक्सो, दम र मानसिक रोगबाट मुक्ति मिल्छ । अविवाहित युवतीको लागि यो व्रत निकै लाभदायक हुन्छ ।
१६ वटा सोमबार शिवको व्रत बसेमा उत्तम वर प्राप्त हुने पुराणमा उल्लेख छ । जसले शुद्ध अन्तःकरणले शिवको उपासना गर्दछ, उसले शिवलोकमा शिवसायुज्य प्राप्त गर्दछ ।शिवको नाममात्रले सम्पूर्ण पाप नष्ट हुन्छ भन्ने मान्यता छ । भगवान् शिव भक्तसँग छिट्टै खुसी हुन्छन्, त्यसैले उनको नाम नै आशुतोष छ । उनको कृपा आशीर्वादले मानिसले जीवनमा सबै संकटबाट मुक्ति पाउँछ र जीवन आनन्दमय हुन्छ ।
FACEBOOK COMMENTS