काठमाडौं । ललितपुरको जावालाखेलमा बुधबारदेखि ‘२८औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी’ सञ्चालन भइरहेको छ ।
‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नाराका साथ फ्लोरिकल्चर एसोसिएशन नेपालले प्रदर्शनीको आयोजना गरेको हो ।
उक्त प्रदर्शनी तिहारलाई लक्षित गरी विशेषतः गोदावरी फूलको प्रवर्द्धन र फूल खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।
जावलाखेल फूटबल मैदानमा सञ्चालन भइरहेको यस प्रदर्शनीमा ८० भन्दा बढी नर्सरीका स्टल छन् । जहाँ पाँच सयभन्दा बढी प्रजातिका फूलहरू अवलोकन गर्न सकिन्छ भने ५० भन्दा बढी गोदावरी फूलका प्रजातिहरू उपलब्ध छन् ।
फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले पुष्प व्यवसायको विकास र प्रवर्द्धनका लागि हरेक वर्ष लगातार रूपमा प्रतियोगितात्मक प्रदर्शनी गर्दै आइरहेको जानकारी दिए ।
उनले भने, ‘पछिल्लो समय नेपालमा पुष्प व्यवसाय फस्टाउँदै गएको छ । नेपालमा पुष्प व्यवसायीहरू जग्गा भाडामा लिएर भए पनि व्यवसाय गर्दै आउनु भएको छ । तर, राज्यबाट पुष्प व्यवसायीलाई प्रोत्साहन गर्ने कुनै पनि कार्यक्रम छैन । यसरी व्यवसायीहरूले नै प्रदर्शनीको आयोजना गर्दा प्रोत्साहन र बजारीकरण दुवै हुन्छ ।’
त्यस्तै, अवलोकनकर्ताहरू पनि एकै स्थानमा विभिन्न थरीका गोदावरी फूल पाइएकोमा खुसी व्यक्त गर्छन् ।
शुक्रबार प्रदर्शनी अवलोकन गर्न आएका राम रानाभाटले धेरै थरीका फूलहरू अवलोकन गर्न पाएको र किफायती मूल्यमा आफूलाई मन परेको फूल किन्न पाएको बताए ।
यस्तै, पुष्प व्यवसायीहरू पनि प्रदर्शनीमा राम्रो आम्दानी गर्न पाएकोमा दङ्ग छन् । पुष्प व्यवसायी बलराम कार्कीले भने, ‘प्रदर्शनीको तेस्रो दिन (शुक्रबार) सम्म आइपुग्दा अवलोकनर्ताको उत्साहजनक सहभागिता रहेको छ र आम्दानी पनि त्यहीअनुसार नै भइरहेको छ । दैनिक एक लाख रुपैयाँभन्दा बढीको व्यापार भइरहेको छ ।’
उनले आफूहरूसँग दश हजार रुपैयाँसम्म पर्ने गोदावरी पनि रहेको जानकारी दिए ।
प्रदर्शनीमा विभिन्न विधाहरूमा उत्कृष्ट स्टलदेखि उत्कृष्ट फूल र फूलका बिरुवाका व्यवसायीहरूलाई पुरस्कृत गरिने आायोजकले जनाएको छ ।
उत्कृष्ट व्यवसायीलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने छ । कात्तिक २ गतेसम्म सञ्चालन हुने यस प्रदर्शनीमा ४० हजारले अवलोकन गर्ने र डेढ करोड रुपैयाँको व्यापार हुने अपेक्षा गरिएको छ ।
साथै, प्रदर्शनीमा ५० रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मको फूल किन्न र अवलोकन गर्न पाइनेछ ।
FACEBOOK COMMENTS