काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष शेखर गोल्छाले बैंकले समस्यालाई अवसर मानेर कमाउन थालेको आरोप लगाएका छन् ।
नाडा इभी सो २०२२ को उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले वर्तमान समस्यालाई बैंकहरूले अवसरको रुपमा उपयोग गरेर बैंकहरुले जथाभावी रुपमा ब्याजदर र ऋणको प्रिमियम वृद्धि गरिरहेको बताए । व्यवसायीहरुलाई पेलेर बैकहरु नाफा कमाउने ढंगमा अगाडि बढेको भन्दै अध्यक्ष गोल्छाले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
विश्व महामारी कोभिड–१९ र तरलता संकटको भुमरीमा परिरहेका व्यवसायीहरुलाई बैंकहरुको ब्याजदर वृद्धिले थप मारमा परेको उनको भनाई छ । बैंकहरुले जथाभावी ब्याजदर बढाइरहेकाले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाइ तत्काल हस्तक्षेप गरेर नियन्त्रण गर्न उनले माग गरे ।
कोभिडपछि नेपाल राष्ट्र बैंकले लिएको नीतिका कारण अर्थतन्त्रमा संकट पुगेको उनको भनाई छ । हालको अर्थतन्त्रमा देखिएको संकट बाह्य कारण भन्दा आन्तरिक समस्या बढी भएको उनको भनाई छ । अहिले पनि अर्थतन्त्रका आधारहरु बलिया रहेकाले सबै क्षेत्रले आत्मासाथ गरेर संकटलाई समधान गर्नुपर्ने उनले बताए । तरलता संकटको बोझ सबैले बोक्नुपर्ने बताएका अध्यक्ष गोल्छाले रेमिट्यान्स पठाउने युवाहरु विदेशिने क्रम १० प्रतिशत बढीले बढेकाले शोधानान्तर स्थितिमा पनि क्रमिक रुपमा सुधार आउँदै गरेको बताए ।
FACEBOOK COMMENTS