काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख सहयोग गर्ने भएको छ ।
गोल्छा ग्रुपले रसुवा तथा अन्य प्रभावित क्षेत्रबाट आइरहेका तस्बिर तथा भिडियोले आफूहरूलाई गहिरो रूपमा स्तब्ध र दु:खी बनाएको जनाएको छ । बाढी तथा विपत्तिमा आफ्ना प्रियजन गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै ग्रुपले अझै पनि आफन्तको खबरको प्रतीक्षामा रहेका परिवारको पीडा र चिन्तामा आफूहरू साथमा रहेको जनाएको हो ।
यस्तो कठिन परिस्थितिमा उद्धार, राहत तथा प्रभावित परिवार र समुदायसम्म आवश्यक सहयोग पुर्याउनु पहिलो र साझा प्राथमिकता भएको गोल्छा ग्रुपका शेखर गोल्छाले समाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका छन् ।
विपत्तिको समयमा निजी क्षेत्र पनि एकजुट भएर सरकार र समुदायसँग हातेमालो गर्दै राहत तथा पुनस्र्थापनाका प्रयासमा सक्दो योगदान दिनुपर्नेमा जोड दिँदै ग्रुपले मानवीय सहायता कार्यमा सहयोगस्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख प्रदान गर्न लागेको जनाएको छ ।
गोल्छा ग्रुपले बाढीबाट प्रभावित सबै परिवार तथा समुदायप्रति आफ्नो साथ, ऐक्यबद्धता र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।