काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका तीन उत्कृष्ट खेलाडीहरूलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ ।
शनिबार, प्रतियोगिताको ’टु ह्वीलर पार्टनर’ को रूपमा गोल्छा ग्रुप अन्तर्गत सञ्चालित हंसराज हुलासचन्द एण्ड कम्पनीले तीन असाधारण प्रदर्शनकर्ताहरू: रोहित कुमार पौडेल, सन्दीप लामिछाने र शेर मल्ललाई पल्सर एन १६० मोटरसाइकल प्रदान गरेको हो ।
रोहित कुमार पौडेलले च्याम्पियनशिप विजेता लुम्बिनी लायन्सको कप्तानी गरेका थिए । स्कोरिङ चार्टमा शीर्ष स्थानमा रहेर सिजनभर २७६ रन बनाएका थिए । यस्तै विराटनगर किंग्सका कप्तान तथा प्रतियोगिताका सर्वाधिक विकेट लिने खेलाडी सन्दीप लामिछाने १७ विकेट लिएका थिए । यसैबीच, लुम्बिनीका शेर मल्लले १७ विकेट लिएर प्रभावशाली बलिङ प्रदर्शन गरेपछि सिजनको इमर्जिङ प्लेयर घोषित भएका थिए ।
पुरस्कार वितरण समारोहमा बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, “हाम्रो कम्पनीले सधैं खेलकुदलाई प्राथमिकता दिएको छ । हामी हाम्रो सम्झौता अनुसार यी उत्कृष्ट खेलाडीहरूलाई पल्सर मोटरसाइकलले सम्मान गर्न पाउँदा खुसी छौं ।
हामी खेलकुद साझेदारी मार्फत हाम्रो ब्रान्डलाई अगाडि बढाउन प्रतिबद्ध छौं ।“लिगका शीर्ष तीन प्रदर्शनकर्ताहरूलाई मान्यता दिन गोल्छा ग्रुप र नेपाल क्रिकेट संघ (क्यान) बीच अक्टोबर ३० मा भएको सम्झौता मार्फत पुरस्कार व्यवस्थालाई औपचारिकता दिइएको थियो । नोभेम्बर १७ मा कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु भएको एनपीएलको दोस्रो संस्करण डिसेम्बर १३, शनिबार हिजो समापन भएको थियो ।



FACEBOOK COMMENTS