काठमाडौं । एक साताको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७२.७ किलोग्राम सुन भित्रिएको छ । मंसिर १३ गतेदेखि १९ गतेसम्मको अवधिमा विदेशबाट उक्त परिमाणको काँचो सुनको बाला भित्रिएको हो ।
विदेशबाट नेपाल फर्कने १५ सय ३० जना नेपालीले आफ्नो साथमा उक्त सुन ल्याएका थिए । विदेशबाट नेपाल फर्कने क्रममा सुनका तयारी गहनाको रुपमा व्याख्या गर्दै ल्याउने गरेको पाइएपछि सरकारले विमानस्थल भन्सारमा कडाइ गरेको थियो ।
विमानस्थलमा चेकजाँच कडाइ गरेपछि सात दिनको अवधिमा ७२ किलो सुन भित्रिएको पाइएको हो । १५ सय ३० मध्ये १३ सय ४१ जनाले सुनको भन्सार तिरेका छन् । भन्सारमार्फत ७ करोड रुपैयाँ राजश्व उठ्ने विमानस्थल भन्सार प्रमुखले जानकारी दिएका छन् ।
नेपाल भित्रिएको ७२ किलो काँचो सुनको बालामध्ये अहिलेसम्म जम्मा ५६ किलो मात्रै सुनको भन्सार संकलन भएको छ । १३ सय ४१ जनाले तिरेको भन्सारमार्फत ५ करोड ४२ लाख रुपैयाँ राजश्व उठेको छ ।
FACEBOOK COMMENTS