हेटौँडा । मकवानपुरको हेटौँडा–१५, रातोमाटेबाट जिल्ला प्रहरी कार्यालयले झन्डै साढे ५४ लाख रुपैयाँ बराबरको अवैध सुनसहित एकजनालाई पक्राउ गरेको छ ।
विशेष सूचना पाएपछि खटिएको प्रहरी टोलीले आज बिहान ३ बजे ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुन बरामद गरेको हो ।
प्रहरीले रातोमाटे चेकपोस्टमा यात्रुवाहक बसका यात्रु चेकजाँच गर्ने क्रममा ५६१.३० ग्राम सुनसहित एकजना पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार प्रदेश २–०३–००१ ख ०१५९ नम्बरको बसमा सवार वीरगन्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साहलाई अवैध सुनसहित पक्राउ गरिएको हो ।
उनले जुत्ताको नोकभित्र उक्त परिमाणमा सुन लुकाएर ल्याएका थिए ।
सुनसहित साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS