काठमाडौं । राजश्व अनुसन्धान विभागले बुधबार बेलुका ठमेल क्षेत्रको एक घरबाट बरामद गरेको ६६ कार्टुनमा पनि सुन भएको हुन सक्ने आशंका गरिएको छ । विभागका एक अधिकारीले दिएको जानकारीअनुसार सुन रहेको आशंकामा नै ती कार्टुन बरामद भएको हो ।
विभागका महानिर्देशक नवराज ढुंगानाले भने, ‘हामीले ६६ कार्टुन बरामद गरेका छौँ, त्यसभित्र के छ भन्ने अनुसन्धान भइरहेको छ ।’
विभागको टोलीले बुधबार नै बालुवाटारमा रहेको चिनियाँ नागरिकको गोदामबाट सुन गाल्ने मेसिन बरामद गरेको थियो । पक्राउ परेका भारतीय नागरिक थुप्तेन छिरिङ र चिनियाँ नागरिक जेक्युयाङ लीनको बयानका आधारमा अनुसन्धान गर्दा सुन गाल्ने मेसिन भेटिएको थियो ।
साउन ३ गते राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट पास भएर बाहिरिएको ब्रेक शु बरामद गरेको थियो । त्यसभित्र करिब एक क्विन्टल सुन रहेको आशंका गरिएको छ । बरामद भएका ब्रेक शु बाट सुन निकालेर नेपाल राष्ट्र बैंकको टक्सार विभागमा लगिएको छ ।
त्यहाँ सुरक्षित राखिएको सुन शुक्रबार या आइतबार तौल लिने तयारी गरिएको छ ।
FACEBOOK COMMENTS