काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत अनुसन्धान हुने भएको छ ।
सरकारी वकिलको कार्यालय, काठमाडौंले सुन बरामद र त्यसमा सरकारी कर्मचारीहरु समेत संलग्न भएको घटनामा अख्तियारमा समेत फाइल पठाउन भन्सार कार्यालयलाई निर्देशन दिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले, २१ मंसिर २०८० को राति फ्लाई दुवईको उडानबाट काठमाडौं आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद गरेको थियो ।
घटनामा संलग्न भएको आरोपमा भन्सार कार्यालयले ‘सुन भन्सार चोरी पैठारी’ गरेको अभियोगमा बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
त्यही फाइलमा मुद्दा चलाउने राय लेख्ने क्रममा सरकारी वकिलको कार्यालय, काठमाडौंले केही सरकारी कर्मचारी भ्रष्टाचारमा समेत संलग्न भएको देखिएको भन्दै फाइल अख्तियार समेत पठाउन निर्देशन दिएको हो ।
सुन चोरी पैठारी काममा नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरु समेत संलग्न देखिएको भन्सार कार्यालयको अनुसन्धानबाट खुलेको छ । प्राधिकरणका कर्मचारीहरु राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ, रमेश देउला, अनिल श्रेष्ठ, शेरबहादुर बस्नेत सुन तस्करीमा संलग्न देखिएको भन्दै सरकारी वकिलको कार्यालयले अख्तियारमा फाइल पठाउन राय दिएको हो ।
FACEBOOK COMMENTS