काठमाडौं । वर्षको अन्तिम दिन सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले बढेर ऐतिहासिक बिन्दुमा कारोबार भएको छ । गत वर्षको यहि दिन सुनको मूल्य १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
२०७९ चैतदेखि २०८० चैत ३० गतेसम्मको तुलना गर्दा सुनको मूल्य प्रतितोला २८ हजार २ सय रुपैयाँले बढेको हो । २०८० साल बैशाख १ गते एक लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ सालको अन्तिम दिन आज शुक्रबार एक लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
अमेरिकी रिजर्ब बैंकको नीति, अमेरिकी डलरको मूल्यमा देखिएको मजवुति र सुनमा लगानीकर्ताको आकर्षण बढेकोले सुनको मूल्य उचाइमा पुगेको व्यवसायीहरु बताउँछन् ।
आर्थिक मन्दीका कारण मूल्य वृद्धि हुनु पनि सुनको मूल्य बढ्नुको मुख्य कारण रहेको व्यवसायीहरु बताउँछन् ।
यस्तै, विश्वव्यापी रुपमा नै सेयर बजार राम्रोसँग विस्तार नभएको हुनाले लगानीकर्ताले सुनमा नै लगानी गरेकोले सुनको भाउ यो वर्ष उच्च रुपमा बढेको व्यवसायीहरु बताउँछन् ।
अन्तर्राष्ट्रिय बजारमा दिनभर हुने कारोबारपछि अन्तिम मूल्यबाट नै नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपालमा मूल्य निर्धारण गर्ने गरेको छ ।
त्यसकारण अन्तर्राष्ट्रिय बजारमा सुन २४ सय डलर पुग्यो भने नेपालमा एक तोला सुन कै मूल्य १ लाख ५० हजार पर्ने व्यवसायीहरु बताउँछन् ।
यसैगरी, यो वर्ष चाँदी प्रतितोला ३०० रुपैयाँले बढेको छ । २०८० को बैशाख १ गते १ हजार ४५० रुपैयाँ रहेको चाँदी आज १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तराष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस सुन २ हजार ३८६ दशमलव ५१ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ दशमलव ८ डलरमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS