काठमाडौं । नेपाली बजारमा पहेँलो धातु सुनको मूल्यले गत शुक्रबार (भदौ १३ गते) नयाँ कीर्तिमान बनाउँदै प्रतितोला दुई लाख ६०० रूपैयाँमा कारोबार भयो ।
त्यसयता हरेक दिन सुनको मूल्यले नयाँ कीर्तिमान बनाइरहेको छ । आज बुधबार (भदौ १८ गते) सम्म आइपुग्दा सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९०० रूपैयाँ पुगेको छ ।
प्राय: वस्तु तथा सेवाको मूल्य घटबढमा माग र आपूर्तिको सन्तुलनमा निर्भर गर्दछ । तर, नेपालमा सुनको मूल्य बढ्नु वा घट्नुमा नेपाली बजारको माग र आपूर्तिले खास अर्थ राख्दैन, अर्थ राख्छ त अन्तर्राष्ट्रिय बजार र महङ्गो मुद्राहरूको मूल्यले ।
त्यसको प्रभावबाट नेपाली बजार र उपभोक्ता अछुतो छैनन् । भदौ १३ गते प्रतितोला दुई लाख ६०० रूपैयाँका साथ नयाँ कीर्तिमान बनाएको सुनको मूल्य क्रमश: १५ गते दुई लाख तीन हजार ६००, १६ गते दुई लाख पाँच हजार ३००, १७ गते दुई लाख पाँच हजार ९०० र आज भदौ १८ गते दुई लाख सात हजार ९०० रूपैयाँ पुगेको छ ।
सामान्यत: सुनचाँदीको माग हुने र मूल्य बढ्ने भनेको चाडपर्व वा विवाहको सिजनमा हो । अहिले दसैँ नजिकिँदै गरेको भए पनि त्यति माग नहुने पर्व होइन । न त यो विवाहको मौसम नै । यस्तो समयमा पनि सुनचाँदीको मूल्य आकासिनु उत्सुकताको विषय बनेको छ ।
सुनचाँदी दैनिक प्रयोगमा आउने अनिवार्य वस्तु पनि होइन, तर पनि यसको मूल्य घटबढमा आम चासो र चिन्ता निरन्तर रहँदै आउने गरेको छ । यसरी सुनचाँदीको मूल्य तीव्ररूपमा बढिरहँदा यसको कारण के होला भन्ने आम चासो र चिन्ता बढ्नु स्वाभाविक हो ।
कर्पोरेट खबरले आज यही चासो र चिन्तालाई सम्बोधन गर्ने प्रयत्न गरेको छ । र, सरोकारवाला विभिन्न व्यक्ति र व्यक्तित्वहरूसँग सुनको मूल्य वृद्धिको कारणहरूबारे प्रतिक्रिया, टिप्पणी र जवाफ खोज्ने जमर्को गरेको छ ।
किन बढिरहेको छ सुनको मूल्य ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियसरत्न शाक्यले सुनको मूल्य बढ्नुको मूख्य कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति भएको बताए । उनले भने, ‘मूल्य वृद्धिको पछाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन र भारतसँगको व्यापार नीतिबाट उत्पन्न भएको प्रभाव, विश्वव्यापी आर्थिक नीतिहरू, मुद्रा स्फीति र ब्याजदरमा आउने अनुमानित परिवर्तन तथा चीनको नयाँ नीतिगत कदमहरू मुख्य कारण हो ।’
अमेरिकाको चीन र भारतसँग ‘ट्यारिफ वार’ चलिरहेको भन्दै उनले अमेरिकाको मुद्रा स्फीति २.९ ले बढेको तथा इजरायल–हमास र रुस–युक्रेनको युद्धका कारण पनि सुनको मूल्य प्रभावित भइरहेको बताए ।
त्यस्तै, उनले ब्राजिल, रसिया, भारत, चीन र साउथ अफ्रिकाको राजनीतिक समीकरण ‘ब्रिक्स’ले अमेरिकी डलरलाई चुनौती दिन जारी गर्ने भनिएको नयाँ मुद्रा ‘ब्रिक्स–पे’ लागू हुने चरणमा पुगेका कारण पनि अन्तर्राष्ट्रिय बजारमै सुन तथा चाँदीको मूल्य बढिरहेको बताए । ‘ब्रिक्स–पे’ लागू भएपछि अमेरिकी डलरको मूल्य घट्ने आँकलनका कारण सुनको मूल्यमा तीव्र वृद्धि आएको उनको भनाइ छ ।
त्यसैगरी, अर्काे पक्षमा चीनले पनि सुनको मूल्य कृत्रिम रूपमा बढाउने रणनीतिअन्तर्गत बीमा कम्पनीहरूलाई प्रत्येक महिनाको लगानीको एक प्रतिशतसम्म सुनमा लगानी गर्न अनुमति दिने नीति ल्याएको छ । यस कदमले हजारौँ अर्ब डलर बराबरको सुनको माग सृजना गर्ने अनुमान गरिएको उपाध्यक्ष शाक्यले कर्पाेरेट खबरलाई बताए ।
उनका अनुसार, अर्काे कारण भनेको भारतीय मुद्राको अवमूल्यन (डिभ्यालुएसन) हुनु पनि हो । भारतीय बजारसँग नेपाली बजार सम्बन्ध राख्ने भएकाले त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा देखिन्छ । लडरको एक्स्चेञ्ज भ्यालुएसन १४१ भएको छ । यो पनि एक मुख्य कारण भएको उनले बताए ।
यिनै कारणहरूले गर्दा बजारमा सुनको मूल्य लगातार वृद्धि भइरहेको छ । यद्यपि, यिनमा अधिकांश कारण राजनीतिक अस्थिरता, मुद्रा अवमूल्यन, लगानीको सुरक्षित गन्तव्य खोजी आदि रहेको वरिष्ठ उपाध्यक्ष शाक्यको भनाइ छ ।
यस्तै, व्यवसायी नरेन्द्र कुमार गुप्ताले सुनको मूल्य अझै केही दिन बढ्ने बताएका छन् । श्री रिद्धिसिद्धि ज्वेलर्सका सञ्चालक समेत रहेका गुप्ताले ‘ब्रिक्स’ले सन् २०२६ सम्ममा ‘ब्रिक्स–पे’ लागू गर्न लागेको र त्यसपछि अमेरिकी डलरको मूल्य घट्ने भएकाले संसारभरि नै सुनको माग र मूल्य बढिरहेको बताए ।
अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेकाले नेपालमा पनि स्वाभाविक रूपमा बढेको उनको भनाइ छ । ‘ब्रिक्स–पे’ लागू गर्ने निर्णय एक महिनासम्ममा टुङ्गो लगाइसक्ने भएकाले करिब १५ दिनसम्म सुनको मूल्य बढ्नसक्ने अनुमान उनको छ ।
यसैगरी, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष पे्रमलाल महर्जनले सुनमा लाग्दै आएको १३ प्रतिशत भ्याट, विलासिता दस्तुर र उच्च भन्सार महसुल जस्ता कारणले पनि सुनको मूल्य बढ्दै गएको बताए ।
मूल्य बढ्दा व्यापारी खुसी, उपभोक्ता मारमा
अहिले नेपालमा दैनिक २० किलो सुन आयात हुने गरेको छ । आज बजारमा सुनको वास्तविक मूल्य दुई लाख ७ हजार ९०० रूपैयाँ भए पनि करसहितको अन्तिम मूल्य दुई लाख १२ हजार रूपैयाँसम्म पुगेको छ । यो मूल्य पक्कै पनि नेपालको सन्दर्भमा अत्यधिक हो ।
मूल्य वृद्धिका कारण उपभोक्ता मारमा परेको भए पनि व्यवसायीलाई ५० प्रतिशत नाफा भइरहेको एक व्यवसायीले बताए । सुनको मूल्य वृद्धिसँगै माग घटेको जानकारी दिँदै उनले भने, ‘उपभोक्ता मारमा परे पनि व्यापारी भने खुसी नै छन् ।’
सुनको मूल्य लगातार बढ्दै जाँदा त्यसको असर नेपाली उपभोक्तामाथि गम्भीर रूपमा परेको बताउँछन् राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन । सरकारद्वारा हालसालै लागू गरिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट), भन्सार महसुल र विलासिता दस्तुरका कारण सुनको मूल्य एकैपटक प्रतितोला २० हजारले महङ्गिएको उनको दाबी छ ।
‘नेपालमा भन्सार महसुल १० प्रतिशत रहेको छ भने छिमेकी भारतमा त्यो महसुल ६ प्रतिशत मात्र छ । यसका कारण भारतसँग जोडिएका सीमावर्ती बजारहरू सुनसान भइरहेका छन् । उपभोक्ताहरू सस्तो दरमा सुन किन्न भारतको सीमावर्ती सहरहरूमा धाउने गरेका छन् । जहाँ प्रतितोला ३० हजारसम्म सस्तोमा सुन उपलब्ध हुन्छ,’ अध्यक्ष महर्जनले भने ।
सरकारले यदि यी सबै कर खारेज गर्यो भने हालको मूल्य भन्दा प्रति १० ग्राममा कम्तीमा २५ हजारले मूल्य घट्नसक्ने उनको भनाइ छ । उपभोक्ता हित संरक्षणमा सरकारको उपस्थितिको कमजोरी र बजारमा बिचौलियाको हाबीका कारण सर्वसाधारणले दैनिक रूपमा अत्यधिक मूल्य तिर्नुपरेको उपभोक्ता अधिकारकर्मीहरूले बताएका छन् ।
चाँदीमा लगानी गर्न आग्रह
सुनको मूल्यमा दैनिक वृद्धि भैरहँदा चाँदीको मूल्यमा पनि स्वाभाविक वृद्धि भइरहेको हुन्छ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य ४० डलरले बढेको छ । नेपालमा पनि चाँदीको मूल्य लगातार बढिरहेको छ ।
विशेषज्ञका अनुसार, सानो पूँजी भएकाहरूका लागि चाँदीमा लगानी लाभदायक हुने बताएका छन् । पछिल्लो समय गरगहनामा चाँदीको प्रयोगको माग बढ्दै गएकाले चाँदीमा पनि लगानी गर्दा फाइदा हुने जानकारहरू बताउँछन् ।
विगत १० वर्षको ट्रेन्ड हेर्दा अन्तर्राष्ट्रिय बजारमा १० हजार रूपैयाँले सुनको मूल्य बढ्दा नेपालमा करिब २० हजार रूपैयाँले वृद्धि भएको देखिन्छ । किनकी अन्तर्राष्ट्रिय बजारमा वृद्धि भएको मूल्यको दोब्बर हुन्छ ।
FACEBOOK COMMENTS