काठमाडौं । आगामी साउनदेखि नेपालमा हिरा तथा बहुमूल्य पत्थरको मूल्य १८ प्रतिशतले वृद्धि हुने भएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत हिरा तथा बहुमूल्य पत्थरलाई मूल्य अभिवृद्धिकर नलाग्ने वस्तुको सूचीबाट हटाइएसँगै यस्तो वस्तुको मूल्य १८ प्रतिशतले बढ्न लागेको हो । साथै विलासिता कर लगाइएको कारण सुनको मूल्यसमेत बढ्ने नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष सुमनमान ताम्राकारले बताए ।
उनले आज सोमबार विज्ञप्ति जारी सरकारले बजेटमा गरेको प्रबन्धका कारण हिरा तथा बहुमूल्य पत्थर र सुनको मूल्य छिमेकी मुलुक भारतको भन्दा धेरै महङ्गो पर्ने भएकाले अवैध आयात बढ्न गइ सरकारको राजस्वमा समेत नकारात्मक प्रभाव पर्ने उल्लेख गरेका छन् ।
‘हिरा र बहुमूल्य पत्थरमा भारतमा ०.२५ प्रतिशत भन्सार महशुल लाग्छ । नेपालमा १ प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धिकर लाग्दा भारत र नेपालमा यी वस्तुको मूल्यअन्तर निकै फराकिलो हुनेछ,’ उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘नयाँ कानुनी प्रावधानका कारण नेपाली बजारमा उपभोक्ताले हिरा जडित गरगहना खरिद गर्दा भारतको तुलनामा १८ प्रतिशतसम्म बढी मूल्य तिर्नुपर्ने हाम्रो अध्ययनले देखाएको छ ।’
भारत र नेपालमा मूल्य धेरै अन्तर पर्नेवित्तिकै यस्ता वस्तु खरिद गर्न नेपाली ग्राहक भारत जाने उनले बताएका छन् । ग्राहक भारत जाँदा नेपाली बजारमा माग घट्ने, खुला सीमानाका कारण अवैध ओसारपसार बढ्ने र अवैध आयातको जोखिम अन्य वस्तुको तुलनामा उच्च हुने उनको भनाइ छ ।
अवैध आयातबाट भित्रिएको सामानको कारोबार अवैध रुपमै हुने हुँदा सबैभन्दा ठूलो नोक्सानी राजस्वमै पर्ने नेपाल रत्न तथा आभूषण संघको ठहर छ । राजस्वमात्र नभइ नियमसम्मत हुने कारोबार घट्ने, राजस्व र रोजगारी सबै क्षेत्रमा नकारात्मक असर पर्ने संघको निष्कर्ष छ ।
‘हिरा र बहुमूल्य पत्थरहरू बाइ ब्याक ग्यारेन्टीमा किनबेच हुने वस्तु भएकाले मूल्य अभिवृद्धिकर लगाउँदा लामो समयदेखि चलिआएको तथा यी वस्तुको कारोबारको मुख्य आधारमध्येको एक बाइ ब्याकको अभ्यास रोक्नुपर्ने हुन्छ । त्यसो गर्दा व्यवसाय नै नचल्ने स्थिति उत्पन्न हुन्छ,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भारतको तुलनामा १८ प्रतिशतसम्म बढी मूल्य तिरेर किनेको वस्तु उपभोक्ताले बिक्री गर्दा २८ प्रतिशत घाटा सहनुपर्ने संघको अध्ययनले देखाउँछ । यो अवस्थामा हिरा र बहुमूल्य पत्थरको व्यवसाय टिकाउनै मुस्किल हुनेछ ।’
यस्तै, संघले सुनमा २ प्रतिशत विलासी कर जोड्दा मूल्य थप महङ्गो बन्ने बताएको । ‘आयातमा १० प्रतिशत भन्सार महशुल छ । त्यसमा बैंकहरूले कमिसन थप्छन् । त्यसपछि २ प्रतिशत विलासिता कर जोड्दा यसै पनि निकै महङ्गो सुनका गरगहनाको मूल्य निकै माथि पुग्छ,’ संघले विज्ञप्तिमार्फत भनेको छ, ‘उता, खुला सीमाना रहेको भारतमा सुन आयातमा ६ प्रतिशत भन्सार र ३ प्रतिशत वस्तु तथा सेवा कर ( जीएसटी) गरी जम्मा ९ प्रतिशत मात्र लागत थपिन्छ ।’
फरक दरको भन्सार महशुल, अन्य शुल्क र कमिसनले खुला सीमाना र निर्वाध आवतजावत गर्न सकिने भारत र नेपालमा सुनको मूल्यमा फराकिलो अन्तर बनाउँछ । नेपाल र भारतमा सुनको मूल्यमा हुने ठूलो अन्तरको फाइदा उठाउन तराई क्षेत्रका सर्वसाधारण सुनका गरगहना किन्न भारत जाने प्रवृत्ति बढ्ने र स्वदेशी व्यवसाय चौपट हुने चिन्ता संघको छ ।
त्यसकारण हिरा र बहुमूल्य पत्थरलाई पुन: मूल्य अभिवृद्धिकर छुट हुने वस्तुको सूचीमै राख्नुपर्ने, सुनमा विलासिता कर लगाउने प्रावधान खारेज गर्नुपर्ने र सुनचाँदी, हिरा तथा बहुमूल्य पत्थरको कारोबारसम्बन्धी स्पष्ट नीति, निर्देशिका अविलम्ब जारी गरी गरगहना व्यवसायलाई समेत ‘ड्युटी ड्र ब्याक’ को सुविधा प्रदान गर्नुपर्ने संघको माग छ ।
यसैगरी, सुन व्यापार मात्र नभएर नेपालीको धर्म, संस्कृति र जीवनसँग जोडिएको अपरिहार्य वस्तु भएको चर्चा गर्दै संघले धार्मिक र सांस्कृतिक अनुष्ठानका लागिसमेत नभईनहुने सुनलाई विलासी वस्तुमा वर्गीकरण गर्नु आफैँमा अनुचित रहेको धारणा अघि सारेको छ ।
FACEBOOK COMMENTS