काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्ताकला महासंघले सरकारको नीति नियमले दुःख पाएका गुनासो गरेका छन् ।
व्यवसायीहरुका अनुसार अहिले सरकारले दैनिक १० किलोग्राम सुनको आपूर्ति व्यवस्था गरेको छ । सिजनको समयमा दैनिक ४० किलोको हाराहारीमा र अफ सिजनको समयमा १० देखि १५ किलोको हाराहारीमा कच्चा सुनको माग हुने गरेको व्यवसायीको भनाइ छ । हाल दैनिक १० किलो मात्र कच्चा सुन आयात हुने गरेकोले आम उपभोक्ताको आवश्यकता पुरा गर्न कठीन भएको महासंघको भनाइ छ ।
व्यवसायीहरुले विधिवत तरिकाले बैंकबाट आउने सुनबाहेक विदेशबाट आउने नेपालीहरुले बिना भन्सार ५० ग्रामसम्म र भन्सार तिरेर थप १०० ग्राम सुनका गरगहना ल्याउन पाउने व्यवस्था गरेको छ ।
पछिल्लो समयमा यसरी ल्याइएका सुनका गरगहनाहरुलाई प्रहरी प्रशासनले जफत गर्ने, यस्तो सुनको कारोबार गर्ने ब्यवसायीहरुलाई पक्रने, अनावश्यक दुःख दिने, मानसिक तनाव दिने जस्ता कार्य हुन थालेकाले व्यवसायीहरुले धेरै हतोत्साही भएको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठले बताए ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले नेपालको राजपत्रमा ५० ग्रामसम्म सुनका गहना भन्सार छुटमा ल्याउन पाउने प्रष्ट व्यवस्था रहे पनि विभिन्न चरणमा सुनको आपूर्तिमा कोटाको व्यवस्थाले व्यवसायीहरु मारमा परेको बताए ।
नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले पर्याप्त सुनचाँदी नहुँदा हस्तकला क्षेत्रमा असर परेको बताए ।
FACEBOOK COMMENTS