काठमाडौं । गोल्याण ग्रुपले जेनजी आन्दोलनका सहिद परिवारप्रति गरेको शैक्षिकवृत्ति तथा स्वास्थ्य बीमासम्बन्धी प्रतिबद्धता पूरा गरेको छ ।
समूहले पहिलो चरणमा २२ जना सहिदका ३१ बालबालिकाका लागि शैक्षिकवृत्ति सम्झौता सम्पन्न गरेको छ भने दोस्रो चरणमा बिहीबार थप २२ सहिदका ४३ आमा–बुवालाई वार्षिक १० लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा उपलब्ध गराउने सम्झौता गरेको हो ।
२०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत्यु भएकामध्ये सरकारले ४५ जनालाई सहिद घोषणा गरेको थियो । गोल्याण ग्रुपले असोज २४ गते नै प्रेस विज्ञप्ति जारी गर्दै सहिद परिवारको शिक्षा र स्वास्थ्यको जिम्मेवारी लिने घोषणा गरेको थियो, जसअनुसार कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो ।
पहिलो चरणअन्तर्गत २०८२ बाटै लागू हुने गरी सहिदका बालबालिकालाई शैक्षिकवृत्ति प्रदान गरिएको छ । यस कार्यक्रममा २२ सहिदका ३१ विद्यार्थी समेटिएका छन् । उनीहरूलाई प्रतिविद्यार्थी मासिक ४० हजार रुपैयाँका दरले वार्षिक अधिकतम ४ लाख ८० हजार रुपैयाँसम्मको सहयोग उपलब्ध गराइनेछ ।
यस शैक्षिकवृत्तिअन्तर्गत विद्यार्थीहरूको सम्पूर्ण शैक्षिक खर्च समेटिएको छ । जसमा मासिक शुल्क, खाना तथा खाजा, छात्रावास, यातायात, अतिरिक्त क्रियाकलाप, वार्षिक भर्ना, प्रशासनिक शुल्क, पुस्तक तथा स्टेशनरी तथा पोशाक खर्चसमेत समावेश छन् । ती विद्यार्थीहरू काठमाडौं, ललितपुर, झापा, चितवन, पोखरा, बुटवल, सुनसरी र लहानका विभिन्न विद्यालयमा अध्ययनरत छन् ।

शैक्षिकवृत्तिमा नसमेटिएका सहिद परिवारका सदस्यका लागि स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको छ । यसअन्तर्गत सहिदका आमा–बुवालाई वार्षिक १० लाख रुपैयाँ बराबरको आजीवन स्वास्थ्य बीमा सुविधा प्रदान गरिनेछ ।

सम्झौता कार्यक्रममा गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले सहिदहरूको बलिदानको सम्मानस्वरूप उनीहरूको परिवारको शिक्षा र स्वास्थ्य जिम्मेवारी लिइएको बताए । उनले सहिदको बलिदानले देशमा नयाँ परिवर्तनको आधार तयार पारेको उल्लेख गर्दै उनीहरूको सपना पूरा गर्नु सबैको दायित्व भएको बताए ।

ग्रुपकी कर्पोरेट अफेयर्स तथा कम्युनिकेशन्स प्रमुख ज्योति गैह्रेले “एक परिवार, एक जिम्मेवारी” भन्ने उद्देश्यसहित कार्यक्रम अघि बढाइएको बताइन् । उनका अनुसार शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा सहयोगले सहिद परिवारको जीवन सहज बनाउन सहयोग पुग्नेछ ।
बीमा सम्झौता कार्यक्रममा जेनजी सहिद परिवार कल्याणकारी समाज अध्यक्षसमेत रहेका सहिद धिरज श्रेष्ठका बुवा नारायण श्रेष्ठले गोल्याण गु्रुपले सहिदको सम्मानमा गरेको सहयोगप्रति आभार व्यक्त गरे । ‘हाम्रा छोराहरुले सुशासनको लागि सहादत प्राप्त गरे, गोल्याणले त्यसको योगदानको सम्मान ग¥यो,’ उनले भने, ‘यो सहयोगलाई स्वर्गवासी सहिदहरुको आत्माले पक्कै पनि धन्यवाद भनिरहेको होला ।’
जेनजी सहिद परिवार कल्याणकारी समाज कोषाध्यक्ष तथा सहिद श्रीयम चौलागाईका बुवा गणेशप्रसाद चौलागाइँले दुःखको बेला गर्ने गरिएका सहयोगका प्रतिवद्धता अलपत्र परिरहेका बेला गोल्याण ग्रुपले इमान्दारीपूर्वक पूरा गरेको बताए ।
‘वास्तवमा सरकारले समेत शिक्षा र स्वास्थ्यमा यति ठूलो गर्न सकेको छैन, तर गोल्याण ग्रुपले विनास्वार्थ सहयोग गरेको छ,’ उनले भने, ‘अब जेनजी आन्दोलनको जगमा बनेको सरकारले गोल्याण ग्रुपबाट प्राप्त सहयोगलाई थप प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने विश्वास लिएका छौं ।’
सहिद गौरव जोशीका मामा जगदीश भट्टले परिवारजन गुमाउँदा पीडामा परेका सहिद परिवारको शिक्षा र स्वास्थ्यजस्तो महत्वपूर्ण जिम्मेवारी लिएर गोल्याण ग्रुपले अभिभावकत्व प्रदान गरेको बताए । ‘यस सहयोगले गोल्याण ग्रुुप र सहिद परिवारबीच सहकार्यको सुरुवातमात्र भएको छैन, गोल्याणले एउटा जिम्मेवार अभिभावकको दायित्व निर्वाह गरेको छ,’ उनले भने ।
शैक्षिकवृत्ति र स्वास्थ्य बीमा कार्यक्रममा सहिद मिलन रायको परिवारमात्र समेटिएको छैन । उनका बालबच्चा र बुवाआमा नभएकोले कार्यक्रममको मापदण्डअनुसार नसमेटिएको ग्रुपले जनाएको छ ।
गोल्याण ग्रुपका अनुसार आन्दोलनका क्रममा ज्यान गुमाएका मध्ये केही परिवारका सदस्य कार्यक्रमको मापदण्डअनुसार समेटिन नसके पनि व्यक्तिगत प्रतिबद्धताअनुसार केहीलाई शैक्षिक तथा स्वास्थ्य सहायता प्रदान गरिएको छ ।