काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेड (Ghorahi Cement Industry Ltd.)ले आजदेखि पहिलो चरणको आईपीओ (IPO) निष्कासन गरेको छ । कम्पनीले प्रिमियममा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो ।
जारी पूँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको १ प्रतिशत अर्थात् ३ करोड ९७ लाख १९ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थप गरी कम्पनीले प्रतिकित्ता ४०० रुपैयाँका दरले ३ लाख ९७ हजार १९० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो ।
स्थानीयका लागि विक्रीमा आउने शेयर खरीदका लागि दाङ (Dang)को घोराही उपमहानगरपालिका वडा नं. १, २, ३, ४, १४, १५, १७, १८ र १९, बंगलाचुली गाउँपालिका वडा नं. ३ र ४ र रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ३ र ४ का बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।
साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ७ करोड ५४ लाख ६६ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ७ लाख ५४ हजार ६६१ कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको छ ।
दुवै समूहका लगानीकर्ताले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले अधिकतम १ लाख कित्तासम्म र वैदेशिक रोजगारमा रहेका नेपालीहरूले अधिकतम ७ लाख ५४ हजार ६६१ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन बन्द छिटोमा जेठ २ गतेका लागि तोकिएको छ भने ढिलोमा जेठ १७ गतेसम्म विक्री लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने जेठ २ गतेभित्र आवेदन दिनु पर्नेछ । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड छ । स्थानीय बासिन्दाले हिमालयन बैंक, नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, घोराही सिमेन्ट इण्डष्ट्री, प्रभु बैंक, कुमारी बैंक, एनएबि बैंक, सानिमा बैंक र ज्योति विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले शेयर खरीद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्ड (Sebon)बाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूसँग मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सक्नेछन् ।
घोराही सिमेन्ट इन्डस्ट्री २०६४ सालमा दर्ता भई २०६९ सालदेखि आफ्नै चुनढुंगा खानीमार्फत क्लिंकर उत्पादन गर्दै आएको छ । हाल कम्पनीले दाङमा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रविधि प्रयोग गरी सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ । त्रिवेणी र बिशाल समूहबाट संयुक्तरूपमा प्रवर्द्धित घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेड क्लिंकर उत्पादन क्षमता र सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको प्रमुख दोस्रो उद्योगमा पर्दछ । हाल कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्डअन्तर्गत क्लिंकर तथा ओपीसी (OPC) र पीपीसी सिमेन्ट (PPC Cement)को उत्पादन तथा विक्री वितरण गरिरहेको छ ।
कम्पनीको मुल उद्योगको वार्षिक क्लिङ्कर उत्पादन क्षमता ३ लाख ५३ हजार ५०० मेट्रिक टन छ भने वार्षिक ओपीसी सिमेन्ट क्षमता २ लाख ४० हजार छ । पीपीसी सिमेन्ट क्षमता ३ लाख ३० हजार र पीएससी सिमेन्ट क्षमता ५० हजार मेट्रिक टन छ । त्यसैगरी इकाई उद्योगको वार्षिक क्लिङ्कर उत्पादन क्षमता ५ लाख ८५ हजार ९०० मेट्रिक टन छ भने वार्षिक ओपीसी सिमेन्ट क्षमता २ लाख ९० हजार छ । पीपीसी सिमेन्ट क्षमता १ लाख २० हजार र पीएससी सिमेन्ट क्षमता ९० हजार मेट्रिक टन छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ४ वर्ष ८ महीना छ भने छूटमा लगानी फिर्ता हुने अवधि ८ वर्ष ५ महीना छ ।
FACEBOOK COMMENTS