काठमाडौं । नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेलले सरकारले अहिले ल्याएको नीति तथा कार्यक्रममा केही नयाँ, धेरै दोहोरिएको र केही बर्सिएर आएको बताएका छन् ।
उनले भने,‘नीति तथा कार्यक्रम मिश्रित छ । गणतन्त्र आएपछि घोषणा भएका कार्यक्रमहरु अहिलेसम्म कार्यान्वयन भएका छैनन्, त्यही भएर दोहोरिएका छन् । यो नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने अब कस्तो बजेट ल्याउँछ ? त्यो हेर्न बाँकी छ ।’
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले नीति तथा कार्यक्रमलाई सपोर्ट बजेटले गर्ने भएकोले त्यहीअनुसार आउनुपर्ने सुझाव दिए । उनले भने,‘११०० देखि ११५० अर्बको राजश्व उठ्छ । राजश्व उठ्ने क्रम घट्दो छ । विगतभन्दा अलिकति सुधार छ । १४ प्रतिशत पनि पुगेको छैन । राजश्व २२ देखि २३ प्रतिशत उठ्ने अपेक्षा राखेका थियौं । यो नीति तथा कार्यक्रम राजनीतिक दस्तावेजपनि हो । यहीअनुसारको बजेट आयो भनेमात्रै सही हुनेछ, अहिले बाहिर आएजस्तो धेरै नराम्रो पनि छैनन् । तर, कार्यक्रमहरु धेरै दोहोरिएका छन् ।’
कार्यक्रममा उनले अब बजेट आउँदा सबै कुरा समेटिनुपर्ने सुझाव दिए । उनले भने,‘अब बजेटमा सबै कुरा समेटेर आउनुपर्छ । पुँजीगत खर्च उठ्ने जुन परिपाटी छ, सरकारले आवश्यकत्ताको आधारमा । विद्युतीय प्रशारण लाईन, ठूला राजमार्गजस्ता प्रोजेक्टमा लगानी गर्नुपर्छ । पुँजीगत खर्च कम भएको छ, यसलाई कसरी सुधार गर्ने ? राजश्व बढाउनेतर्फ ध्यान दिनुपर्छ । अहिलेको नीति तथा कार्यक्रमले धेरै सपना बाँड्ने आयोजना देखाएको छैन् ।’
फरक प्रसंगमा उनले सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ती गर्न नसकेकोमा आलोचना गरे । उनले भने,‘यो सरकार बन्दा ७ बुँदा सहमति भएको थियो, तीमध्ये आर्थिक क्षेत्र चलायमान बनाउने थियो । गभर्नर नियुक्ती गर्न नसक्दा कतै यो सरकारको एजेण्डामा आर्थिक विषय परेन कि जस्तो लाग्छ । कांग्रेस र एमालेले पारदर्शी रुपमा राम्रो मान्छे ल्याउने भनेका छन्, आशा गरौं राम्रो मान्छे नेतृत्वमा आउनुहोला । यो लोक हसाईंको विषय गराउनुहुँदैन् थियो ।’ राष्ट्र बैंकको गभर्नर ल्याउँदा बैकिङ प्रणाली बुझेको मान्छे ल्याउनुपर्ने उनले जोड दिए । उनले भने,‘अहिले हामीलाई बैकिङ प्रणाली क्षेत्र बुझेको मान्छे चाहिन्छ । कोही अर्थशास्त्र पढेको छु भनेर दुईवटा खुट्टा उभिएको मान्छे भएर हुँदैन् ।’
उनले भारत र पाकिस्तानको युद्धले नेपालको अर्थतन्त्रमा असर पार्ने भएकोले त्यसतर्फ नेपाल सचेत हुनुपर्ने सुझाव दिए । उनले भने,‘मुख्यतय पहलगममा टार्गेटेड किलिङ भयो, निहत्था पर्यटकहरुको हत्या भयो । आतंकवादी सञ्जाल, मानवता र शान्तिका विरोधी हुन्छन् । आतंककारीलाई संरक्षण गर्नेहरुलाई डिसम्यान्टेल गर्नैपर्छ । भारतले त्यसको लागि लिएको गतिविधि, खासगरी आतंककारीलाई टार्गेट गरेको हो भने ठिक छ । तर, निहत्था मान्छे नमरुन् । साउथ एशियामा द्धन्द्ध नबढोस । आंतकवाद निर्मुल पार्नैपर्छ ।’ सो क्रममा भारतीय सेनामा काम गर्ने आफ्नै जिल्लाका एक जना युवाको निधन भएको कुरा सुनेको उल्लेख गर्दै श्रद्धाञ्जली अर्र्पण गरे । उनले भारत लडाईंमा गए नेपालको अर्थतन्त्रमा ठूलो असर पर्ने औंल्याए ।
उनले नेपालमा गणतन्त्र खतरामा नरहेको दाबी गरे । अहिलेको पुस्ताले नै पाका पुस्ताभन्दा बढि स्वतन्त्रता चाहेको उनले स्मरढा गराए । उनले भने,‘यो संविधानले अहिंसात्मक रुपले, अरुको स्वतन्त्रतालाई हनन नगरी माग राख्न पाईन्छ भनेको छ । तर आन्दोलनमा तोडफोड हुनुहुँदैन् । माओवादीले पनि समाजवाद ल्याउँछु भनेर युद्ध गरेको थियो । आफ्नै सेना थियो, ग्रामिण जनताको साथपनि पाएकै थियो । तर, आफूले भनेजस्तो व्यवस्था ल्याउन सकेन । अहिले काठमाडौंमा दुई-चार दिन आन्दोलन गरेर राजावादीहरुले लोकतन्त्र फाल्न सक्नुहुन्न । शान्तिपूर्ण रूपमा आफ्नो कुरा राख्न पाउनुहुन्छ । जे अधिकार प्राप्त भएको छ, यही लोकतन्त्रबाट मिलेको छ । लोकतन्त्रलाई अहिले कसैलेपनि डिरेल गर्न सक्दैनन् । अहिलेको पुस्ताले हामीभन्दा बढि स्वतन्त्रता चाहन्छन् । केही नेताले भनेजस्तो गणतन्त्र खतरामा छैन । यसमा डराउनुपर्ने हुँदैन् । सरकारले सार्वजनिक तोडफोड गर्नेलाई सजाय दिनुपर्छ ।’
FACEBOOK COMMENTS