काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार सूचना प्रविधिको क्षेत्रलाई लगानीको प्रमुख गन्तव्यका रूपमा विकास गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) विज्ञान तथा प्रविधि विभागले आज यहाँ आयोजना गरेको ‘नेपालका लागि सूचना प्रविधिमा आधारित उद्यमशीलता : आर्थिक समृद्धिको नयाँ बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सरकार सूचना प्रविधिको माध्यमबाट मुलुकमा सुशासन कायम गर्ने विषयमा क्रियाशील रहेको बताए ।
सन् २०२६ सम्ममा नेपाल विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुने उल्लेख गर्दै उनले त्यसका लागि पनि सूचना प्रविधिमा लगानी बढाउन आवश्यक भएको बताए । उनले कम्पनी स्थापना पनि अटोमेसन (स्वचालित) को माध्यमबाट सञ्चालन गर्ने गरी प्रक्रिया अगाडि बढाएको बताए ।
‘आज घरमै बसेर कम्पनी दर्ता गर्ने काम अगाडि बढाएका छौँ । कार्यालय दर्ता हुने वित्तिकै उद्योग पनि स्वतः दर्ता गर्न सकिने व्यवस्था गरेका छौँ,’ उनले भने । उद्योगमन्त्री भण्डारीले सरकारले सेवा प्रवाहको क्षेत्रमा सुशासनको अनूभूति दिइरहेको बताए ।
उनले धुवाँ, प्रदूषण उत्सर्जन गर्ने उद्योगलाई सूचना प्रविधिको प्रयोगमा लैजानुपर्नेमा जोड दिए । उनले पुँजी र प्रविधिलाई विशेष महत्त्वका साथ उठाइएको भन्दै प्रविधिलाई आत्मसात गर्न नसकेको खण्डमा आजको विकास सम्भव नहुने बताउए ।
मन्त्री भण्डारीले अबको उद्योग र उद्यमशीलतालाई सूचना प्रविधिको माध्यमबाट अगाडि बढाउनका लागि नीति ल्याउनेसमेत तयारी भइरहेको उल्लेख गरे । उनले मन्त्रालयअन्तर्गतका कानुनलाई सुधार गरेर लगानी, प्रविधि र उद्योग स्थापना गर्न जोड दिइएको भनाइ राखे । उनले करमा सहुलियत हुन सके सूचना प्रविधिको विकास अझ बढी हुने पनि बताए ।
कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) की अध्यक्ष सुनैना पाण्डेले सूचना प्रविधिसँग सम्बन्धित कानुनमा देखिएका समस्यालाई सरकारले सहजीकरण गर्नुपर्ने बताइन् ।
FACEBOOK COMMENTS