असोज ११ , काठमाडौं । सरकारले धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भीष्मराज ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ।
धितोपत्र बोर्डको अध्यक्ष भएका बेला ठूलो परिमाणमा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको खुलासा भएपछि उनलाई कारबाही प्रक्रिया सरकारले अघि बढाएको हो। कारबाही गर्नुअघि उनलाई स्पष्टीकरण सोध्ने निर्णय भएको मन्त्रालयको भनाइ छ। यो प्रकरणमा नेप्सेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद पनि मुछिएका थिए। तर उनले राजीनामा दिइसकेका छन्।
नेपाल धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भीष्मराज ढुंगानाले अर्थ मन्त्रालयले सोधेको स्पष्टीकरणको जवाफ दिँदा झुटो विवरण समावेश गरेको पाइएको छ। सर्वोत्तम सिमेन्टको सेयर छोरीको नाममा किनेको र सेयर बजारमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) आरोपमा मन्त्रालयले ढुंगानालाई स्पष्टीकरण सोधेको थियो।
धितोपत्रको भित्री कारोबार तथा सर्वोत्तम सिमेन्टको सेयर खरिदमा ढुंगानाको संलग्नता पुष्टि हुने छानबिन समितिको प्रतिवेदनले उल्लेख गरेको छ।
ढुंगानाले आफ्नी छोरीको नाममा ओटीसीमार्फत सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेका थिए।
