बुटवल । कर्मचारी सेवा सर्त विनियमावली उल्लंघन गर्दै नेपाल विद्युत प्राधिकरण क्षेत्रीय वितरण केन्द्र बुटवल कालिकानगरकी कर्मचारी नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधि (मतदाता) बनेको खुलेको छ ।
प्राधिकरणकी वरिष्ठ सहायक सिनियर मिटर रिडर कल्पना थापा एमाले महाधिवेशन प्रतिनिधि चयन भएर महाधिवेशनमा सहभागी भएकी हुन् । महाधिवेशनको उदघाटन समारोहमा थापा पुगेको तस्वीर सार्वजनिक भएपछि उनले सरकारको कर्मचारी सेवा सर्त विनियमावली उल्लंघन गरेको पुष्टि भएको हो ।
विनियमावलीको परिच्छेद १३ को नियम १३० मा कुनै पनि कर्मचारीले राजनीतिक दलको सदस्यता लिनु नहुने, राजनीतिक दलहरुले सञ्चालन गरेको राजनैतिक क्रियाकलापमा सहभागी बन्न नहुने र निर्वाचनमा भाग लिन नहुने स्पष्ट उल्लेख छ । यस्तै कर्मचारीले कुनै पनि राजनैतिक पदको लागि हुने निर्वाचनमा भाग लिन र कसैको निमित्त मत माग्न वा कुनै प्रकारबाट प्रभाव पर्नेगरी राजनीतिक प्रचार प्रसार गर्नु गराउन नपाइने उल्लेख छ ।
निर्वाचनमा भाग लिएकी एमालेकै अग्रज महिला नेतृले राजनीति मात्र गरेका इमान्दार महिलाहरु पछाडि पर्ने तर सरकारी जागिर खाएर सरकारकै नियम कानून कुल्चेर राजनीति पनि गर्नेहरुलाई पार्टी नेतृत्वले प्रश्रय दिनु गलत भएको प्रतिक्रिया दिइन् । थापा भन्दा सिनियर थानकुमारी थापा, विमला पन्थी, देवी वाग्लेहरु महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए ।
FACEBOOK COMMENTS