काठमाडौं । सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा कायम भएको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा दुई दिन दिँदा बिरामी मर्कामा पर्ने भन्दै अस्पतालहरुलाई आइतबार पनि ओपीडी खुला गर्न आग्रह गरेको थियो ।
मन्त्रालयको आग्रहपछि चिकित्सक संघले आइतबार ओपीडी खोल्न नसक्ने बताएपछि सरकारले सरकारी अस्पतालहरुमा फेरि आइतबार बिदा कायम गरेको हो ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनसँगै स्वास्थ्य सेवामा कुनै अवरोध नहुने उल्लेख गरेको छ।
मन्त्रालयले अस्पतालहरूमा बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न २४ सै घण्टा आकस्मिक तथा अन्तरंग सेवा यथावत सञ्चालन रहने जनाएको छ। मन्त्रालयले बिदाका दिनमा समेत स्वास्थ्य सेवा प्रभावित नहोस् भनेर अस्पतालहरूलाई आवश्यक सेवा उपलब्ध गराउन निर्देशन दिएको छ। साथै, उपलब्ध सेवाको जानकारी वेबसाइट तथा सूचना पाटीमार्फत सर्वसाधारणलाई उपलब्ध गराउन आग्रह गरिएको छ।