विराटनगर । कोशी प्रदेशमा सत्ता साझेदार दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेसबीच मन्त्रिपरिषद् पुनर्गठनको तयारी भएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले केही दिनभित्रै मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका हुन् ।
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार केही दिनभित्र नयाँ मन्त्रीको शपथ हुनेछ । नेपाली कांग्रेसका सांसद भीम पराजुलीले पनि सरकार पुनर्गठन अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार १–२ दिनभित्रै सरकार पुनर्गठन हुने र नयाँ मन्त्रीहरूको शपथ ग्रहण हुने सम्भावना छ ।
एमाले र कांग्रेसबाट को–को बन्दैछन् मन्त्री ?
नेकपा एमालेबाट मन्त्री बन्ने आकांक्षीहरूको सूचीमा ६ जनाको नाम छ, जसमध्ये चार जना मन्त्री बन्नेछन् । एमाले स्रोतका अनुसार बिदुर लिङ्थेप, चिन्तन पाठक निरन राई, इन्द्रमणि पराजुली, उमाकान्त गौतम र रामप्रसाद मेहतामध्ये ४ जना मन्त्री बन्नेछन् ।
नेपाली कांग्रेसको तर्फबाट चार जनाको नाम मन्त्रीका लागि लगभग निश्चित भएको छ । कांग्रेसबाट मानबहादुर लिम्बू, भीम पराजुली, इसराइल मन्सुरी, प्रदिप सुनुवार मन्त्री बन्नेछन् ।
वर्तमान सरकारमा नेकपा एमालेबाट राम राना (आर्थिक मामिला), पाँचकर्ण राई (सामाजिक विकास), रेवतीरमण भण्डारी (आन्तरिक मामिला तथा कानुन) र एकराज खनाल (खानेपानी, सिँचाइ तथा ऊर्जा) मन्त्रीका रूपमा कार्यरत छन् ।
नेपाली कांग्रेसबाट भूपेन्द्र राई (भौतिक पूर्वाधार विकास र स्वास्थ्य), खगेनसिंह हाङ्गाम (कृषि) र सदानन्द मण्डल (पर्यटन, वन तथा वातावरण) मन्त्री रहेका छन् । प्रदेश सरकारमा भागबन्डा मिलाउन र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन यो पुनर्गठन गर्न लागिएको स्रोतको दाबी छ ।

FACEBOOK COMMENTS