काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनताको मनबाट एमालेलाई कसैले अलग गराउन नसक्ने दाबी गरेका छन् ।
बिहीबार पार्टीको भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा उनले सरकारबाट बाहिरिए पनि एमाले जनताको मनमा रहेको बताए ।
“अहिले हामी सरकारबाट बाहिरिएका छौँ । जनताको हृदयमा एमाले छ । जनताको हृदयबाट कसैले अलग गराउन सक्दैन,” उनले भने ।
पोखरेलले जेनजी युवाहरूको क्षतिको भर्पाई एमालेले लिने पनि बताए । “हामी हाम्रा नवयुवाको क्षतिको भर्पाई लिन तयार छौँ । नवयुवाको हत्याका नाममा राष्ट्रविरुद्धको विप्लव गरियो,” उनले भने ।
उनले जनतालाई सत्यतथ्य बताउने र नयाँ विश्वासका साथ संविधानवादको युगतर्फ अघि बढाउन भूमिका खेल्ने भनाइ राखे । उनले दश वर्षको माओवादी द्वन्द्वमा समेत केही नभएको सार्वजनिक सम्पत्ति जलाइएको पनि बताए । दण्ड दिनका लागि नेतृत्व गर्न एमाले तयार रहेको उनको भनाइ छ । “त्यो दण्ड दिने अभियानको नेतृत्व एमाले गर्न तयार छ,” उनले भने ।
उनले सरकारले गठन गरेको छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको पहिलेको अभिव्यक्ति सुन्दा निष्पक्ष छानबिन हुन सक्छ ? भन्ने प्रश्न पनि गरे ।
FACEBOOK COMMENTS