काठमाडौं । लामो रस्साकस्सीपछि सरकारले नियामक निकाय नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्त गरेको छ । अर्थविद् विश्व पौडेललाई आज मङ्गलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले गभर्नरमा नियुक्त गरेको हो ।
गभर्नर नियुक्ति प्रक्रियामा खुलेआम राजनीति हुँदा यो विवादित र पेचिलो बनेको थियो । प्रक्रिया लम्बिँदै जाँदा आर्थिक चलखेलको आरोपसमेत लागेको थियो ।
अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिको आजैको बैठकले अर्थविद् पौडेलसहित तीन जनाको नाम गभर्नरमा नियुक्तिका लागि मन्त्रिरिषद्समक्ष सिफारिस गरेकाे थियाे ।
यसअघि आजै बिहान सत्तारूढ दुई प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भएको थियो ।
पौडेल कांग्रेसनिकट हुन् । उनको नाम पहिलो नम्बरमा सिफारिस भएकाे थियाे ।
एमालेले गभर्नर आफ्नो भागमा पार्न अनेक हतकण्डा अपनाएको थियो । तर, सरकार ढल्नेसम्मको स्थिति तथा प्रक्रिया अत्यन्त विवादित बनेपछि प्रधानमन्त्री ओली आफ्नो अडानबाट ब्याक भएका हुन् ।
FACEBOOK COMMENTS