काठमाडौं। बैंकहरुको खराब ऋण बढेर वित्तीय क्षेत्रमाथि प्रश्न उठिरहेका बेला नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सोमबार बाणिज्य बैंकका प्रमुख कार्यकारी (सीईओ)सँग चार घण्टा छलफल गरेका छन्।
छलफलमा सबै बाणिज्य बैंकका सीईओहरु सहभागी थिए। गभर्नर अधिकारीले ‘आत्तिनु पर्ने अवस्था नरहेको’ बताए। उनले अहिलेको समस्याबाट कसरी बाहिर आउने भनेर स्पष्ट खाका भने केही पनि दिएनन्।
गभर्नर अधिकारीले २१ बटै वाणिज्य बैंकका सीईओको कुरा पालैपालो सुनेका थिए ।
डेपुटी गभर्नर बमबहादुर मिश्रले नेपालको बैंकिङ क्षेत्र अहिले पनि स्वस्थ रहेको भन्दै बैंकहरुले नियामक निकायको निर्देशन पालन गर्दै अगाडि बढ्नुपर्ने बताएका थिए ।
‘सुरुमा डेपुटी गभर्नरले केही कुरा राख्नुभयो । त्यसपछि गभर्नर आफैंले बैंकका सिइओलाई पालैपालो के कस्तो समस्या छन्, नलुकाई भन्नुहोला भनेर एक एक बोल्न लगाउनुभयो,’ सहभागी एक सीईओले भने,‘ बैंकिङ क्षेत्रमा केही दवाबको अवस्था आएपनि समान गर्नै नसक्ने अवस्था नरहेको सन्देश राष्ट्र बैंकको थियो । राष्ट्र बैंकले वित्तीय क्षेत्रमा समस्या छैन भन्ने सन्देश दिन खोजेको छ ।’
बैंकरले केही समस्या र केही सुझाव सहित आफ्नो भनाइ राखेका थिए । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले कर्जा रिकभरीमा चुनौती हुनसक्ने उल्लेख गर्दै सरकारले पूँजीगत खर्च भुक्तानी नगर्दा निर्माण क्षेत्रको कर्जामा समस्या भएको बताएका थिए ।
नगद प्रवाह कम हुँदा कर्जा रिकभरीमा जोखिम हुनसक्ने उनको भनाइ थियो । अन्तिममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आफ्नो भनाइ राखेपछि बैंकहरुलाई गभर्नरले राष्ट्र बैंकको निर्देशन पालना गर्दै काम गर्न निर्देशन दिएका थिए ।
छलफलमा ब्याज दरको कुरा भने उठेन। छलफलमा अहिले माग घटेर उत्पादन घटेको र त्यसको असर सबैतिर परेको कुरा उठेको थियो। तर सबैले बैंकलाई मात्र लक्षित गरेर अभिब्यक्ति दिइरहेको बारेमा चर्चा भएको थियो।
गभर्नरको चासो भने खराब ऋण बढेपनि आत्तिन नपर्ने सन्देशमा केन्द्रित थियो। उनले प्रमुख कार्यकारीहरुलाई निक्षेपकर्ता र ऋणी दुबैलाई अहिलेको अवस्था बुझाउन र सही सुचना दिन आग्रह गरेका थिए।
अधिकांस बैंकरले सरकारले खर्च गर्नु पर्ने, ऋण पुनर्संरचना गर्न दिनु पर्नेलगायतका सुझाब दिएका थिए।
बैंकले यसपालि स्टिल, सिमेन्ट, कृषि, निर्माण क्षेत्र, साना तथा मझौला ब्यवसायमा समस्या रहेको जानकारी गभर्नरलाई गराएका थिए।
FACEBOOK COMMENTS