काठमाडौँ । गभर्नर डा. विश्वनाथ पौडेल सार्क फाइनान्स गभर्नर समुहको बैठकमा सहभागी भएका छन् ।
अमेरिकाको वाशिंटन डिसीमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका दौरान बोलाइएको सार्क फाइनान्स गभर्नर समुहको बैठकमा डा. पौडेलले सहभागिता जनाएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
बङ्गलादेश बैंकका गभर्नर डा. असान एच. मन्सुरको अध्यक्षतामा आयोजित उक्त बैठकमा दक्षिण एसिया क्षेत्रका केन्द्रीय बैंकका गभर्नर, डेपुटी गभर्नर, अर्थ मन्त्रालयका अधिकारी र अन्य प्रतिनिधिको सहभागिता थियो ।
बैठकलाई सम्बोधन गर्दै गभर्नर पौडेलले नेपालको वर्तमान आर्थिक स्थितिको विश्लेषण गर्दै मुद्रास्फीति र बाह्य क्षेत्रका सूचकहरू सहज अवस्थामा रहेको बताएका थिए । तथापि, हालै विकसित राजनीतिक परिस्थितिका कारण वित्तीय
सन्तुलन र दिगो आर्थिक वृद्धिका प्रयासमा चुनौती थपिएको धारणा राखेका थिए । उक्त चुनौतीलाई सम्बोधन गर्दै अर्थतन्त्रको पुनरुत्थान र गतिशीलताको निम्ति नीतिगत सहजीकरणको प्रयास थालिएको जानकारी गभर्नर पौडेलले दिएको बैंकले जनाएको छ ।
बैठकमा उद्घाटन मन्तव्य राख्दै बङ्गलादेश बैंकका गभर्नर मन्सुरले दक्षिण एसिया क्षेत्रमा केन्द्रीय बंकै बीच क्षेत्रीय सहकार्य र असल अभ्यासको आदानप्रदानका निम्ति सार्क फाइनान्स साझा मञ्च रहेको धारणा राखेका थिए । सो अवसरमा सहभागी केन्द्रीय बैंकका तर्फबाट आ–आफ्नो देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे प्रस्तुति दिइएको थियो ।
बैठकमा सार्क पेमेन्ट काउन्सिलको प्रभावकारिता, सार्क क्षेत्रमा वित्तीय समावेशीकरण, सार्क मुलुकबीच ‘करेन्सी स्वाप’को सम्भावना, साझा अनुसन्धान र तथ्याङ्क प्रणाली, सार्क छात्रवृत्ति र आगामी कार्यदिशाका विषयमा सहभागीहरूबीच छलफल भएको थियो ।
कार्यक्रममा सहभागी केन्द्रीय बैंकका गभर्नरहरूबाट सार्क सदस्य राष्ट्रबीच आगामी दिनमा आर्थिक तथा वित्तीय क्षेत्रका समसामयिक विषयमा समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा जोड दिइएको थियो ।
उक्त बैठकबाट सार्क फाइनान्सको अध्यक्षता भुटानको केन्द्रीय बैंक ‘रोयल मनिटरी अथोरिटी’मा हस्तान्तरण भएको छ । बैठकमा आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. रामशरण खरेल र गभर्नरको कार्यालयका निर्देशक शरणकुमार अधिकारीको समेत सहभागिता थियो ।
सार्क फाइनान्स दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा आबद्ध मुलुकका केन्द्रीय बैंकका गभर्नर तथा अर्थ सचिवहरूको सञ्जाल हो । सार्क राष्ट्रबीच समष्टिगत आर्थिक नीतिको विषयमा छलफल र पारस्परिक सहयोग आदान
प्रदान गर्ने उद्देश्यका साथ सन् १९९८ मा सार्क फाइनान्सको स्थापना भएको थियो । सन् २००२ जनवरीमा काठमाडौंमा सम्पन्न ‘एघारौँ सार्क शिखर सम्मेलन’ ले सार्क फाइनान्सलाई औपचारिक मान्यता दिएको थियो ।
FACEBOOK COMMENTS