काठमाडौं । नेपाली खाद्य बजारको अग्रणी खाद्यपदार्थ उत्पादक तथा अन्तर्राष्ट्रिय बजारमा समेत बलियो बजार हिस्सा ओगट्न सफल कम्पनी यशोदा फुड्स प्रालिले आफ्नो नयाँ ग्लोबल कार्यकारी निर्देशकका रूपमा जीपी शाहलाई नियुक्त गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा वार्षिक टर्नओभर एक सय करोड रूपैयाँभन्दा माथि भएको यशोदा फुड्सले भारत, क्यानडा, अमेरिका, बहराइन, कुवेत, यूएई, जापान, यूके, इटली, मलेसिया, अष्ट्रेलिया, कोरिया, भुटान, हङकङ, कतार, सिंगापुर, न्युजिल्याण्डलगायत १५ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्ने गरेको छ ।

शुक्रबार काठमाडौंको सोल्टीमोडस्थित हायात सेन्ट्रिकमा एक भव्य सम्मान समारोह आयोजना गर्दै यशोदा फुड्सले उक्त घोषणा गरेको हो । समारोहमा औद्योगिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, व्यावसायिक साझेदारहरू र मिडिया प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो ।
कार्यक्रममा यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद पौडेलले खादा र फूलको गुच्छासहित शाहलाई ग्लोबल कार्यकारी निर्देशकका रूपमा सम्मान गर्दै स्वागत गरेका थिए ।



ग्लोबल कार्यकारी निर्देशक पदमा शाहको नियुक्तिसँगै यशोदा फुड्सको नयाँ र उत्साहजनक अध्यायको सुरूआत भएको कम्पनीको भनाइ छ । उनले आफ्नो दीर्घ अनुभव र रणनीतिक दृष्टिकोणका माध्यमबाट कम्पनीलाई नयाँ उचाइ प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ । ग्लोबल कार्यकारी निर्देशकको भूमिकामा उनले नवीनतम योजनाहरूको नेतृत्व गर्दै घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा समेत कम्पनीको उपस्थिति अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।


ग्लोबल कार्यकारी निर्देशकका रूपमा नियुक्त भएका शाह व्यवसायलाई नयाँ जीवन्तता प्रदान गर्ने, बजार वृद्धि, अन्तर्राष्ट्रिय बजार विस्तार, ब्राण्ड बिल्डिङ, व्यवसायको कार्यगत क्षमताको विस्तार तथा वृद्धि, संस्थागत विकास र टिम बिल्डिङका लागि ख्यातिप्राप्त व्यक्तित्व हुन् । रेभिन्यूमा निरन्तर वार्षिक वृद्धि, नाफाका साथै इन्टरप्राइजको भ्यालू एडिशनका लागि प्रमाणित ट्र्याक रेकर्डका लागि पनि उनी परिचित छन् । उनको अनुभव तथा विशेषज्ञता प्रडक्शन, इञ्जिनियरिङ, प्रडक्ट डेभलपमेन्ट, अपरेशन्स, प्रजेक्ट्स, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेल्स, मार्केटिङ, अन्तर्राष्ट्रिय बजार विस्तार र ३५ भन्दा बढी देशहरूमा मार्केटिङ तथा एडभरटाइजिङलगायत रहेका छन् ।
उनको व्यावसायिक करियरअन्तर्गत उनले ख्यातिप्राप्त कन्जुमर गुड्स ब्राण्डहरू जस्तैः चाउचाउ, एक्स्क्रुडेड स्न्याक्स, पोट्याटो चिप्स, फ्राइड स्न्याक्स, वेफर्स, मसलाहरू, इन्स्ट्यान्ट पास्टा, सिगरेट, फलफूलजन्य पेयपदार्थ, इनर्जी ड्रिंक्स तथा बियरका श्रेणीहरूसमेत रहेका छन् ।

‘यशोदा फुड्स प्रालिसँग अनुबन्धित हुँदै सफलताको नयाँ रोमाञ्चक यात्राको साझेदार हुन पाउनु मेरो लागि ठूलो सम्मान तथा गौरवको विषय हो । गुणस्तर र नवप्रवर्तनका लागि सवालमा सदैव अग्रणी रहँदै आएको यस कम्पनीसँग आफ्नो यात्रा अगाडि बढाउन पाउँदा म निकै उत्साहित छु,’ समारोहमा आफ्नो मन्तव्य राख्दै उनले भने, ‘कम्पनीको भिजनलाई आत्मसात गर्दै कम्पनीलाई थप सफलता र उचाइमा पुर्याउने म मेरो हार्दिक प्रतिबद्धता व्यक्त गर्दछु ।’
यो नियुक्तिले यशोदा फुड्सको निरन्तर सफलता, उन्नति, उत्कृष्टता र नवीनताप्रतिको प्राथमिकतालाई प्रतिबिम्बित गरेको छ । कम्पनीले आफ्नो परम्परागत विरासतलाई कायम राख्दै खाद्यपदार्थ क्षेत्रमा नवप्रवर्तन भित्र्याउने उद्देश्य लिएको छ । कम्पनी सदाझैं आफ्ना उत्पादनको गुणस्तर र ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्दै नेपाली अर्थतन्त्रमा समेत उल्लेखनीय योगदान पुर्याउन प्रतिबद्ध रहेको कार्यक्रममार्फत जानकारी दिइयो । साथै निकट भविष्यमा खाद्य उत्पादनका साथै एफएमसीजी उत्पादनहरू पनि सार्वजनिक गर्ने कम्पनीको लक्ष्य रहेको छ ।