काठमाडौं । नेपालमा होटल विकास तथा लगानीको क्षेत्रमा क्रियाशील अग्रणी कम्पनी ग्रान्ड सेन्ट्रल होटल प्राइभेट लिमिटेडले आजदेखि रमादा बाइ विन्धम इटहरी पशुपति मार्ग सञ्चालनमा आएको घोषणा गरेको छ।
योसँगै पूर्वी नेपालको द्रुत रूपमा विकास भइरहेको व्यापारिक केन्द्र इटहरीमा अन्तर्राष्ट्रिय स्तरको हस्पिटालिटी सेवा भित्रिएको छ। श्री देश बन्धु बस्नेतको स्वामित्वमा रहेको यो होटल विन्धम होटल्स एण्ड रिसोट्र्ससँगको सहकार्यमा विकास गरिएको हो।
पूर्वी नेपालमा अवस्थित इटहरी एक महत्वपूर्ण ट्रान्जिट तथा व्यापारिक गन्तव्यका रूपमा स्थापित हुँदै गइरहेको सन्दर्भमा यो होटललाई त्यस क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ।
रमादा बाइ विन्धम इटहरी पशुपति मार्गमा ८१ वटा पूर्ण रूपमा सुसज्जित अतिथि कक्षहरू रहेका छन्, जसले व्यवसायिक तथा घुम्न आउने यात्रु दुवैका लागि आरामदायी र अत्याधुनिक सुविधा प्रदान गर्दछ। होटलमा दिनभर सञ्चालन हुने रेष्टुरेन्ट, बार तथा लाउञ्ज, हेल्थ क्लब, स्पा र आउटडोर स्विमिङ पुलको सुविधा उपलब्ध छ। बैठक, सम्मेलन तथा सामाजिक कार्यक्रमका लागि प्रशस्त स्थानसहितका ब्याङ्क्वेट हल र छुट्टै मिटिङ रुम पनि उपलब्ध छन्, जसले यस क्षेत्रमा बढिरहेका कर्पोरेट तथा सामाजिक कार्यक्रमहरूको माग पूरा गर्ने लक्ष्य राखेको छ।
ग्रान्ड सेन्ट्रल होटल प्रा. लि. का संचालक श्री देश बन्धु बस्नेतले भन्नुभयो, “व्यापारिक तथा ट्रान्जिट केन्द्रका रूपमा तीव्र गतिमा विकास भइरहेको इटहरीमा गुणस्तरीय एवम् विश्वसनीय होटलको माग बढिरहेको छ। विन्धमसँगको सहकार्य मार्फत हामीले यस ठाउँको अनुभवलाई अन्तर्राष्ट्रिय मापदण्डसँग जोड्दै स्वदेशी तथा विदेशी दुवैखाले यात्रुका आवश्यकता पूरा गर्ने गन्तव्य निर्माण गरेका छौं।”

विन्धम होटल्स एण्ड रिसोट्र्सका युरेसिया क्षेत्रका मार्केट म्यानेजिङ डाइरेक्टर श्री राहुल माकारियसले भन्नुभयो, “इटहरीमा ग्रान्ड सेन्ट्रल होटल प्रा. लि. सँगको सहकार्यमा रमादा ब्रान्ड ल्याउन पाउँदा हामी खुशी छौं।

व्यापारिक ट्रान्जिट द्वारका रूपमा रहेको यो शहर अन्तर्राष्ट्रिय स्तरको हस्पिटालिटी सेवाका लागि उपयुक्त छ, र दक्षिण एसियाका तीव्र रूपमा विकास भइरहेका दोस्रो दर्जाका शहरहरूमा विस्तार गर्ने हाम्रो रणनीति अन्तर्गत यो होटल संचालनमा ल्याइएको हो।”

यो होटल संचालनमा आएसँगै नेपालमा विन्धमको उपस्थिति थप मजबुत भएको छ र यस क्षेत्रका उदाउँदा बजारहरूमा ब्रान्डेड हस्पिटालिटी सेवाको विस्तारलाई थप सहयोग पुर्याएको छ। यस होटलका अतिथिहरूले विश्वकै सबैभन्दा ठूलो होटल लोयल्टी कार्यक्रमहरूमध्ये एक विन्धम रिवाड्र्स®का सुविधाहरू पनि प्राप्त गर्नेछन्, जसमा विश्वभर १२ करोड २० लाखभन्दा बढी सदस्य आबद्ध छन्।

FACEBOOK COMMENTS