कैलाली । कैलालीका दुई पालिकामा समूहका विपन्न दलित महिलालाई आयआर्जन गरी स्वरोजगार बनाउन अनुदान रकम वितरण गरिएको छ ।
दलित महिला संघ (फेडो) कैलालीले धनगढी उपमहानगरपालिका र गौरीगंगा नगरपालिकाका–१० वटा समूहका २९ जना विपन्न दलित महिलालाई तीन/तीन लाखका दरले अनुदान रकम वितरण गरेको हो । नेपालमा दलित महिला र किशोरीको मानवअधिकार प्रवर्द्धन परियोजनाबाट उनीहरूलाई सो रकम अनुदान दिइएको हो । उक्त रकमबाट दलित तथा विपन्न महिलाले स्थानीय स्तरमा उद्यमशील बनी आत्मनिर्भर बन्ने कोसिस गरिरहेको दलित महिला संघका अध्यक्ष सविना सुनारले बताए ।
महिलाले सो रकम कुखुरा पालन, खुद्रा पसल, बाख्रा पालन, बङ्गुर पालनलगायत अन्य सीपमूलक व्यवसायमा लगानी गरेको उनको भनाइ छ । परियोजनाबाट व्यवसाय सञ्चालन सहयोग र ङ्याचिगम सहयोग गरी प्रतिव्यक्ति रु. १५ हजारदेखि ३५ हजारसम्म अनुदान दिइएको अध्यक्ष सुनारले जानकारी दिए ।
अनुदान रकम थोरै भए पनि विपन्न महिलाले सानो सानो उद्यम गरी आफूलाई स्वरोजगार बनाउन सहयोग पुग्ने जनाइएको छ । रकम दिनुअघि संस्थाले उनीहरूलाई उद्यमशीलता विकास तालिम, व्यावसायिक योजना निर्माणलगायतका सीप प्रदान गरेको अध्यक्ष सुनारको भनाइ छ । दुवै पालिका तथा वडा स्तरीय जनप्रतिनिधिको रोहवरमा वितरण गरिएको सो अनुदान रकम समूहको बीउ पुँजीका रूपमा रहने र बढीमा एक वर्षपछि घुम्ती कोषका रूपमा अन्य व्यवसाय गर्ने सदस्यलाई समूहले निर्णय गरी प्रदान गरिने कार्यक्रम संयोजक विनोदकुमार घिमिरेले बताए ।
जसबाट समूहको बचत कोषको प्रवर्द्धन भई समूहका प्रत्येक सदस्यलाई आर्थिक गतिविधि सञ्चालन गर्न मद्दत पुग्ने विश्वास लिइएको उनले जानकारी दिए ।
FACEBOOK COMMENTS