नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष रहेकी रजनी थापा उद्यमका साथै र राजनीतिमा पनि उत्तिकै सक्रिय छिन् । पीसीएल नर्सिङ, कानूनमा स्नातक, राजनीतिशास्त्र, जनप्रशासनमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी रजनीले हाल अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिमा विद्यावारिधि गरिरहेकी छिन् । सीटीईभीटीको नेविसंघको केन्द्रीय उपाध्यक्ष भइसकेकी थापाले नेपाली कांग्रेस टोखा नगरसमितिको सचिवको भूमिका पनि निर्बाह गरिसकेकी छिन् । यस्तै, महिला संघ टोखा नगर सभापति तथा नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण विभागको प्रशिक्षकको रूपमा कामको अनुभव पनि थापासँग छ । राजनीति र उद्यमलाइृ सँगसँगै अघि बढाइरहेकी उनले पछिल्लो समय दोलखास्थित सिंगटी हाइड्रोपावरमा निर्देशक भएर पनि काम गर्दै आएकी छिन् । यस्तै, रजनीले २०७४ को स्थानीय तहको निर्वाचनमा नगर उपप्रमुखमा आफ्नो उम्मेदवारी दिएकी थिइन् । जेसिसमार्फत् सामाजसेवा तथा विभिन्न सामाजिक कार्यहरूमा पनि थापा सक्रिय छिन् । नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा रहेर सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा समेत सक्रिय रहेकी थापाले जेसिजको आगामी कार्यकालका लागि राष्ट्रिय अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छिन् । उन्को उम्मेदवारी, नेपाल जेसिजको काम र यसको प्रभावकारितालगायत विषयमा केन्द्रित रहेर कर्पोरेट खबर म्यागेजिनकी ङिमु शेर्पाले थापासँग कुराकानी गरेकी छिन् । प्रस्तुत छ, थापासँग गरिएको कुराकानीको सम्पादित अंश:–
जेसिज कस्तो संस्था हो ?
जेसिज १८ वर्षदेखि ४० वर्षसम्मका युवाहरूको व्यक्तित्व र नेतृत्व विकास गर्ने संस्था हो । जुनियर चेम्बर इन्टरनेसनल, जसलाई सामान्यतया ‘जेसीआई’ भनेर चिनिन्छ, एक नाफा नकमाउने अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था हो यो । यसको लगभग १२४ वटा देशहरूमा सदस्यहरू छन्, र ती मध्ये अधिकांश क्षेत्रीय वा राष्ट्रिय संगठनहरू छन् । पहिलो स्थानीय जुनियर चेम्बर अध्याय १९१५ मा स्थापित भएको थियो, तर अन्तर्राष्ट्रिय छाता संगठन जूनियर चेम्बर इन्टरनेसनल (जेसीआई) को स्थापना १९४४ मा मेक्सिकोमा भएको थियो । यो युरोप काउन्सिलसँग संयुक्त राष्ट्र संघको आर्थिक र सामाजिक परिषद्को साथ परामर्श स्थिति हो ।
युनेस्कोसँग यसले युवाहरूलाई सक्रिय नागरिक बन्न र सामाजिक र आर्थिक विकास, र अन्तर्राष्ट्रिय सहयोग, सद्भावना र समझदारीको दिशामा प्रयासमा भाग लिन प्रोत्साहित गर्दछ । हेनरी गिसेनबिर जुनियरले समुदायको युवा वर्गका लागि सामाजिक आउटलेट हर्क्युलेनियम डान्स क्लब गठन गरेको थियो । अक्टुबर १,१९१५ मा, पहिलो जेसीआई आन्दोलनको स्थापना भएको थियो । अमेरिकाको सेन्ट लुइसस्थित मिशन इनमा युवा पुरुषको प्रगतिशील नागरिक संघ (वाईएमपीसीए) गठन गर्न सामेल भएका थिए । युवा पुरुष प्रगतिशील सिभिक एसोसियसनका सदस्यहरूले व्यापक समुदायबाट मान्यता प्राप्त गरे, जबकि नोभेम्बर १९४४ मा नागरिक संगठनहरूको मेयर सम्मेलनको सदस्यको रूपमा नाम दर्ता गरेपछि संगठनलाई आधिकारिक मान्यता दिइयो । एक वर्ष पछि, वाईएमपीसीए सेन्ट लुइस चेम्बर अफ कमर्ससँग सम्बद्ध भएपछि जुनियर नागरिक र जुनियर चेम्बर इन्टरनेशनलको रूपमा परिचित भयो ।
जेसिजले के काम गर्छ ?
जेसिजले मुख्यत: चार वटा क्षेत्रमा काम गर्छ । व्यक्तित्व विकास, सामुदायिक विकास, व्यावसायिक विकास र अन्तर्राष्ट्रिय विकास क्षेत्र । अहिलेसम्म हामी प्राय: व्यक्तिगत विकासका कामहरूमा केन्द्रित भइरहेका छौँ । साथसाथै केही सामाजिक विकासका कामहरू पनि गरेका छौँ । साथै, हामीले जेसिजका सदस्यहरूलाई विभिन्न किसिमका तालिमहरू पनि दिँदै आएका छौँ । जेसिजको उद्देश्य भनेकै युवाहरूलाई सक्षम बनाउने हो । कुनै युवा सक्षम बन्नका लागि शिक्षा मात्रै काफी हुँदैन । शिक्षा सँगसँगै व्यक्तिको व्यक्तित्व, नेतृत्व र बोल्ने कलाको विकास हुनुपर्छ । यसलाई नै हामीले मुख्य रूपमा अगाडि बढाएका छौं । जेसिजबाट व्यक्तित्व र नेतृत्व विकास गरेका धेरै व्यक्तिहरू अहिले राज्यका विभिन्न निकायहरू र कयौँ संसंस्थाहरूको नेतृत्वमा समेत हुनुहुन्छ । उहाँहरू त्यहाँसम्म पुग्नुमा जेसिजको योगदान महत्वपूर्ण छ भन्ने मेरो धारणा छ । सोही कारण जेसिजप्रति युवाहरूको आकर्षण राम्रो छ ।
व्यवसायमा जेसिजले कसरी सहयोग गर्छ ?
अवश्य पनि नेपाल जेसिजले उद्यमशीलताको क्षेत्रमा विभिन्न योगदान गर्दै आएको छ । एउटा युवालाई अनिवार्य चाहिने विषय भनेको उद्यमशीलता हो । त्यसका लागि हामीले विभिन्न तालिमहरू पनि दिँदै आएका छौँ । हाम्रो संगठन विभिन्न देशमा फैलिएकाले पनि हामीले निर्यातमुखी उद्यमशीलतालाई प्राथमिकताका साथ राखेर काम गरिरहेका छौँ । जेसिसको नियमित कार्यहरू हुन्छन् । हामीले वर्षमा दर्जनौँ कार्यक्रमहरू गरिरहेका हुन्छौं । त्यसैगरी जेसिसका स्थानीय संगठनहरूबाट पनि विभिन्न कार्यक्रम हुने गर्दछ । त्यसैगरी जेसिजमार्फत युवा कसरी सक्षम बनाउन सकिन्छ, नेतृत्व विकास, संगठनिक विकास, सामाजिक काममा समर्पित गर्ने जस्ता सामाजिक हित हुने काम गर्दै आएको छ ।
जेसिजमा कस्ता व्यक्तिले प्रवेश पाउँछन्, प्रवेशका लागि के–के मापदण्ड चाहिन्छ ?
जेसिजमा १८ वर्षदेखि ४० वर्षसम्मका युवाहरू प्रवेश गर्न सक्नुहुन्छ । हरेक वर्ष जनवरी महिनामा सदस्यका लागि आवेदन खुल्छ । नेपाली नागरिक हुनुपर्ने, प्रमाणपत्र तह वा प्लस टु अनिवार्य गरेको हुनुपर्ने भनिएको छ । तोकिएको उमेर समूहका युवाहरू राखिएका शर्त पालना गरेर फारम भर्न आएमा उहाँहरू सदस्य बन्न सक्नुहुनेछ । जेसिजमा सहभागिता अनिवार्य शर्त हो । फारम भर्ने तर सहभागी नहुने भयो भने सदस्यता खारेज पनि हुन्छ । सुरूमा जोसिजको अस्थायी सदस्यता दिइन्छ । त्यसपछि एक वर्षसम्म अस्थायी सदस्यता लिएका सदस्यहरूको कार्यक्रममा सहभागिता वा उपस्थिति हेरिन्छ । सहभागिता राम्रो रह्यो भने ति अस्थायी सदस्यलाई बल्ल सदस्यता दिने प्रक्रिया छ । अस्थायी सदस्यता फारम भर्दा एक हजार रूपैयाँ शुल्क लिने गरिएको छ । त्यसपछि स्थायी सदस्यता प्राप्त गरेपछि वार्षिक रूपमा चार हजार रूपैयाँ नवीकरणवापत तिर्नुपर्दछ ।
सदस्यता शुल्क र नवीकरण दस्तुरका कारण जेसिजलाई धनीहरूको मात्रै संस्था भन्ने पनि गरिन्छ नि ?
जेसिजमा लाग्नेहरू पुँजिपतिवर्गका मात्र हुन्छन् भन्ने सोचाई बिलकुल गलत हो । बरु मेरो विचारमा त जेसिज धनी बनाउने सँस्था हो भन्छु । यहाँ संसारभरिका उद्यमी र व्यावसायी व्यक्तित्वहरूबीच सम्बन्ध, सहकार्य तथा अन्तरक्रिया हुने गर्दछ जसबाट आर्थिक समृद्धि प्राप्त गर्नका लागी विभिन्न विकल्पहरूलाई उपयोग गर्न सकिन्छ । तर जेसिजपछि विभिन्न कार्यक्रम र तालिममा आफै सहभागी हुने तथा समय पनि दिनुपर्ने हुन्छ । यस कारणले मानिसहरूमा त्यस्तो भ्रम उत्पन्न भएको हुन सक्दछ । जेसिज अन्य संस्था भन्दा सस्तो छ ।
जेसिजको शाखा सञ्जाल कस्तो छ ?
नेपालमा देशभरिए फैलिएको एउटा मात्रै गैरनाफामुलक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था जेजिज हो । यसका शाखा सञ्जाल देशभरि फैलिएका छन् । भन्नुनै पर्दा एउटा नगरपालिकामै दुई/तीन वटासम्म जेसिजका संगठन छन् । तिनले स्थानीयस्तरमा निकै प्रभावकारी ढंगबाट कामहरू अगाडि बढाइरहेका छन् ।
समाजसेवा गर्ने विभिन्न माध्यमहरू छन् । किन जेसिज रोज्नुभयो ?
मुख्यत: आफ्नो जीवनमा म गम्भीर प्रकृतिको विरामी परेर जीवनबाट हार खाइसकेको अवस्थामा नेपाल जेसिजका साथीहरूले अस्पतालमै गएर दिनुभएको आँट, साहस र हौसलाका कारण नेपाल जेसिजमा मेरो आवद्धता हुन पुग्यो । यसका साथै जेसिजले आफ्ना सदस्यहरूलाई आफू बस्ने समाजप्रतिको दायित्वबोध गराई विश्वको विकासमा सहभागिता गराउँछ । विश्वका प्रत्येक व्यक्तिले आफ्नो दायित्व अनुरूप आफू बस्ने समाजमै कार्य गरेर पनि विश्व विकासमा योगदान दिन सक्दछ ।
नेपाल आफैंमा प्राकृतिक सुन्दरताले भरिपूर्ण देश हो । यसैकारण पनि नेपालको भविष्य उज्ज्वल छ । तर, मैले अघि उल्लेख गरेझैँ मुलुक सञ्चालनको मुख्य नीति राजनीति सुधारिनु जरुरी छ । राजनीति सुधारियो भने यो देश विकास हुन र जनतामा समृद्धि आउन अब धेरै वर्ष कुर्नै पर्दैन ।
यस संस्थामार्फत विश्वस्तरमा नै बन्धुत्वको सम्बन्ध स्थापित गर्न सुनौलो अवसर प्राप्त हुने हुनाले मैले जेसिज रोजेकी हुँ । यो संस्थाले व्यक्तिको नभई विधिको शासनलाई उच्च प्राथमिकता दिइ विश्व वन्धुत्वको भावनालाई आत्मसाथ गर्दै विभिन्न तालिमको माध्यमवाट युवाहरूको व्यक्तित्व र नेतृत्व क्षमता तथा उद्यमशीलताको विकास गराउन क्रियाशील रहँदै आएको छ, यो महत्वपूर्ण पाटो हो । तसर्थ म त भन्छु अरु युवायुवती साथीहरूले पनि आफूमा भएको व्यक्तित्व र नेतृत्व क्षमता अभिवृद्धिका लागि यस संस्थामा आवद्ध हुन जरुरी छ ।
युवाहरूलाई अन्तर्राष्ट्रियकरण गर्ने भन्नुको औचित्य के हो ?
नेपालको जुनसुकै कुना कन्दरामा जन्मेको युवाको पनि जेसिसमा आवद्ध भइसकेपछिको यात्रा भनेको अन्तर्राष्ट्रियसम्मको यात्रा हो । उसलाई एउटा स्थानीय युवादेखि अन्तर्राष्ट्रियस्तरको युवासम्म विकास गर्ने जेसिसको मुख्य लक्ष्य हो । त्यसका लागि जेसिजले एकेडेमिक, वर्कसप, ट्रेनिङकोमार्फत हुँदै अन्तर्राष्ट्रिय स्तरको ट्रेनिङसम्मको यात्रा तय गराउँदछ । यसले एउटा इन्टेलिजेन्ट युवालाई अन्तर्राष्ट्रियकरण गरेर त्यहाँको व्यवसायी बनाउने हो की, नेतृत्वमा जान सक्ने बनाउने भन्ने कुराको निक्र्योल गर्दछ । त्यसैगरी व्यापारमा अगाडि बढ्न चाहने युवालाई जेसिसका १२० राष्ट्रमा रहेका जेसिस युवाहरूले सहयोग पाउन सक्छन् । नेपालमा उत्पादित सामान १२० राष्ट्रमा पुर्याउन सकिन्छ ।
नेपाल सरकार र जेसिजबीच कुनै सहकार्य हुन सक्छ ?
हुन्छ । हामीले गरिरहेका छौँ । आवश्यकता अनुसार सरकारसँग समन्वय गरेरै हामी अगाडि बढ्ने हो । सरकारले लिएका युवालक्षित नीतिहरूलाई सफलीभूत बनाउन हामीले योगदान दिने गरेका छौँ । यद्यपि राज्यले जानेरै हामीलाई त्यो भूमिका दिन भने सकेको छैन । यस विषयमा पनि हामीले बारम्बार पहल गरिरहेका छौँ ।
तपाइँले नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । यत्रो ठूलो संस्था हाँक्न चानचुने कुरा त छैन नि ?
अवश्य पनि मैले नेपाल जेसिजको आगामी कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेर त्यो अभियानमा म लागिसकेकी छु । नेपाल जेसिज र जेसिजको परिधिबाहिर रहेर मैले अहिलेसम्म गर्दै आएको काम र जेसिजले म माथि गराएको नेतृत्व र क्षमता विकासका कारण यो संस्था हाँक्न मलाई कुनै समस्या छैन । यो आँट, क्षमता र साहस मलाई यही जेसिजले दिलाएको हो । जेसिजप्रति कृतज्ञ हुँदै म आगामी नेतृत्वका लागि अघि बढेकी हुँ ।
जितका आधार के हुन् ?
पहिलो कुरा त मैले अहिलेसम्म गरेका कामहरू नै मैले चाहेको पद जित्ने आधार हुन् । यसका अलावा जेसीआईले अंगीकार गरेको सिद्धान्तहरू नै नेपालका युवाहरूको चौतर्फी विकासका लागि स्थानीय जेसिजसँग सहकार्य गरेर कसरी सकारात्मक रूपमा अगाडि बढाउने भन्ने नै मुख्य एजेण्डा हो । स्थानीय र केन्द्रको राम्रो सहकार्य हुन सकेमा मात्र स्थानीय युवाहरूमा त्यो कार्यक्रम पुग्छ र जेसिजको मुल मर्म अनुसार उसले आफूमा सकारात्मक परिवर्तन ल्याउँछ । जेसिजमा बसेर स्थानीय र केन्द्रलाई जोडेर युवाको चौतर्फी विकासमा काम गर्नु नै मेरो मुख्य रणनिती हो । यो रणनीति पूरा गर्न मैले नै नेतृत्व गर्नपर्ने आवश्यकतालाई महसुस गरी आफूले अध्यक्ष पदमा उम्मेदवारी अघि सारेकी हुँ ।
तपाइँ देशको राजनीतिक कस्तो देख्नुहुन्छ ?
हामी युवाको नजरबाट हेर्दा राजनीति आफैंमा नराम्रो कुरा हुँदै होइन, यो त राज्य सञ्चालनका लागि आवश्यक पर्ने सबै नीतिहरूको पनि मूल नीति हो । तर, नेपालमा राजनीतिको आवरणमा व्यक्तिवादी खुसी हाबी हुँदा आम नागरिकको न्यूनतम हित पनि भइरहेको छैन । यो दलदलबाट मुलुकलाई माथि उठाउन पनि अब राजनीतिमा अग्रजहरूको सल्लाह र सुझावमा युवाहरूको सक्रियताका साथै नेतृत्व समेत आउनपर्ने जरुरी देख्दछु । यदि युवाहरूको नयाँ सोच र जाँगरमा अग्रजहरूको अनुभव र परिपक्वता मिसाउने हो भने राजनीतिले राम्रो बाटो अवश्य पनि लिन सक्छ ।
नेपालको भविष्य कस्तो छ ?
नेपाल आफैंमा प्राकृतिक सुन्दरताले भरिपूर्ण देश हो । यसैकारण पनि नेपालको भविष्य उज्ज्वल छ । तर, मैले अघि उल्लेख गरेझैँ मुलुक सञ्चालनको मुख्य नीति राजनीति सुधारिनु जरुरी छ । राजनीति सुधारियो भने यो देश विकास हुन र जनतामा समृद्धि आउन अब धेरै वर्ष कुर्नै पर्दैन ।
युवाहरूलाई के कस्तो सुझाव दिन चाहानुहुन्छ ?
जुनसुकै देशका लागि युवाहरू मेरुदण्ड हुन् । मेरुदण्ड नै बलियो छैन भने शरीले काम गर्दैन भनेझैँ देशमा पनि युवा भएनन् भने काम गर्न सकिँदैन । अहिले विभिन्न बाहानामा विदेश जाने क्रम ह्वात्तै बढेको छ । यसरी शिक्षित र दक्ष युवाशक्ति विदेश पलायन हुँदा मुलुकलाई अप्ठेरो परिरहेको छ । त्यसकारण मुलुकमै भएका सम्भावनाहरूमा पनि हामी युवाले काम गर्नुपर्दछ र त्यसतर्फ सोच्नपर्दछ । १२ कक्षा उत्तीर्ण हुनेवित्तिकै विदेशको होइन पहिला स्वदेशमा भएका सम्भावनाको सपना देख्ने गर्नुहोस् । समस्यारहित समाज र देश हुँदैन, समस्याकै बीचबाट संघर्षको माध्यममार्फत एउटा युवाले ठूला ठूला प्रगति र उन्नति हासिल गर्न सक्दछन् । यसतर्फ युवा भाइबहिनीहरूले गम्भीरतापूवर्क सोच्न जरुरी छ । साथै युवा भाइबहिनीका अभिभावकहरूले पनि आफ्ना सन्तानलाई विरानो मुलुकमा पठाउने सपना नदेखेर स्वदेशमै केही गर्ने बाटो देखाउने र उहाँहरूलाई कन्भिन्स गराउने काम गर्नुपर्दछ ।
FACEBOOK COMMENTS