काठमाडौं । राजधानीमा अहिलेसम्मकै बृहत अष्ट्रेलियन शैक्षिक मेला २०२५ आयोजना हुने भएको छ ।
स्टडी इन अष्ट्रेलिया’ भन्ने मूल नाराका साथ राजधानीमा आगामी भदौ अन्तिम साता नायर अष्ट्रेलियन एजुकेशन एक्स्पो २०२५ आयोजना हुन लागेको हो ।
नेपाल एसोसिएशन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेसेन्टेटिभ्स (नायर) को आयोजनामा हुने उक्त शैक्षिक मेला आगामी भदौ २९ गते काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने बताइएको छ ।
आयोजकका अनुसार मेलामा अष्ट्रेलियाका विश्वविद्यालय र कलेजका प्रतिनिधिहरूसहित उल्लेख्य संख्यामा शैक्षिक संस्थाहरूको सहभागिता रहनेछ । विद्यार्थीहरूले अष्ट्रेलियामा अध्ययन गर्न आवश्यक शैक्षिक ऋण, भिसा प्रक्रिया, छात्रवृत्ति विवरण, भर्ना प्रक्रिया तथा बीमा सेवाबारे प्रत्यक्ष जानकारी पाउने आयोजक पक्षले जानकारी गराएको छ ।
विशेषगरी यस वर्ष कक्षा १२ पुरा गरेका विद्यार्थी, स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरू साथै अभिभावकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।
नायरका अध्यक्ष उद्धव खड्काका अनुसार शैक्षिक मेलाले विद्यार्थीहरूलाई अष्ट्रेलियामा उच्च शिक्षा सम्बन्धी सबै आवश्यक परामर्श नि:शुल्क उपलब्ध गराउनेछ ।
सो अवसरमा विभिन्न छात्रबृत्तिको व्यवस्था गरिएको र विद्यार्थीहरूलाई सीधा अवसर लिन सकिने वातावरण मिलाइएको आयोजकको भनाई छ ।
मेलाको इभेण्ट म्यानेजमेन्ट इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिले गर्ने भएको छ भने नायरका अध्यक्ष उद्धव खड्का र महासचिव विराज पाण्डेले यसलाई सफल बनाउन तयारी तीब्र पारिएको जनाउनुभएको छ । आयोजकले यस मेलालाई नेपाली विद्यार्थीका लागि अष्ट्रेलियामा उच्च शिक्षा हासिल गर्न विश्वसनीय प्लेटफर्मको रूपमा प्रस्तुत गरेको छ ।
नेपाल एसोसिएशन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेसेन्टेटिभ्स (नायर) अष्ट्रेलियामा अध्ययनका अवसरबारे नेपाली विद्यार्थीलाई सहज, पारदर्शी र विश्वासिलो शैक्षिक परामर्श दिने उद्देश्यले स्थापना गरिएका
शैक्षिक संस्थाहरुको छाता संगठन हो । अष्ट्रेलियाका विश्वविद्यालय तथा कलेजहरूसँग प्रत्यक्ष समन्वय गर्दै नायरले शिक्षा मेला, सेमिनार र अन्तरक्रियामार्फत विद्यार्थी र अभिभावकलाई आवश्यक जानकारी, भिसा प्रक्रिया, छात्रबृत्ति तथा अन्य शैक्षिक सेवाबारे मार्गदर्शन गर्दै आएको छ ।
FACEBOOK COMMENTS