काठमाडौं । कास्कीको पोखरा–८ न्यूरोडमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंकले पोखरा फाइनान्ससँगको ‘मर्जर सहमति’बारे नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई पत्राचार गरेको छ ।
ग्रीन डेभलपमेन्ट बैंक र पोखरा फाइनान्स वा अन्य बैंक तथा वित्तीय संस्था संस्थाबीच मर्जरको विषय अन्तिम चरणमा पुगेको भनेर गरिएको प्रचारका विषयमा प्रष्ट पार्दै बैंकले नेप्सेलाई पत्राचार गरेको हो ।
‘यस ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र अन्य बैंक तथा वित्तीय संस्थाको बीचमा मर्जरसम्बन्धी विषय अत्यन्त नजिक पुगेको भन्ने समाचारतर्फ यस बैंकको ध्यानाकर्षण भएको छ । यस्तो समाचारहरूमा कुनै आधिकारिकता नरहेको व्यहोरा जानकारी गराउँदछौँ,’ बैंकले नप्सेलाई लेखेको पत्रमा भनिएको छ ।
बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जरको सहमति नभएको स्पष्ट गरेको हो । यसअघि ग्रीन डेभलपमेण्ट बैंक लिमिटेड र पोखरा फाइनान्स लिमिटेडबीच मर्जरसम्वन्धी सहमतिनजिक पुगेको भनेर केही सञ्चार माध्यमहरूमा समाचार प्रकाशित भएको थियो ।
त्यसपछि शुक्रबार बैंकले विज्ञप्ति जारी गर्दै मर्जरको सहमति नजिक भनेर फैलाइएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको थियो । तर, त्यसपछि पनि कुप्रचार नरोकिएपछि बैंकले नेप्सेलाई पत्र लेख्दै बजारमा आएका यससम्बन्धी समाचार झुटो भएको स्पष्टीकरण दिएको हो ।
‘बैंकले आफैं प्रादेशिकस्तरको विकास बैंक बन्न आवश्यक पुँजी वृद्धि गर्नेसम्बन्धी पुँजी योजना नेपाल राष्ट्र बैंकसमक्ष पेश समेत गरिसकेको छ,’ बैंकले विज्ञप्तिमार्फत भनेको छ, ‘हाल अनलाइन मिडियामा पोखरा फाइनान्ससँग जोडिएर आएका मर्जरसम्बन्धी समाचारमा कुनै आधिकारिकता छैन ।’
FACEBOOK COMMENTS