काठमाडौं । ग्रीनेदी इनर्जी लिमिटेडले स्थानीयबासी तथा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो नियुक्तिसम्बन्धी सम्झौता आज मंसिर १ गते सोमबार सम्पन्न भयो । सम्झौतामा ग्रीनेदी इनर्जी लिमिटेडका तर्फबाट अध्यक्ष युरेशमान कायस्थ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक आशिष गौचनले हस्ताक्षर गरे ।
कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशत साधारण शेयरहरू आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणहरूमा निष्कासन गर्न लागेको हो । कम्पनीले कास्की जिल्लामा अवस्थित इदी खोलामा इदी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न भई २०८२ वैशाख ८ देखि व्यापारिक उत्पादन गरिरहेको आयोजना हो ।
साथै, उक्त आयोजनामा बैंकिङ, जलविद्युत, बीमा, पुँजीबजार क्षेत्रमा विशिष्टता हासिल गरेका व्यक्तिहरूको समूहको संलग्नता भएको र आयोजनाको हाइड्रोलोजी क्यू ६५ को संरचनामा निमार्ण भएको हो । ग्रीनेदी इनर्जी लिमिटेडमार्फत् आगामी दिनहरूमा अन्य जलविद्युत आयोजनाका साथसाथै सौर्य तथा हरित उर्जाको क्षेत्रमा लगानी गर्ने योजना रहेको कम्पनीका अध्यक्ष युरेशमान कायस्थले जानकारी दिए ।
FACEBOOK COMMENTS