काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्ड अमेरिकाको हुनुपर्ने भन्दै कब्जा गर्ने संकेत दिएपछि डेनमार्कसहित युरोपेली देशले कडा प्रतिक्रिया दिएका छन् ।
डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले अमेरिकाले ग्रिनल्याण्डलाई आफूमा गाभ्ने प्रयास गरेमा नेटो सैन्य गठबन्धन ध्वस्त हुने चेतावनी दिएकी छन् । एक टिभी अन्तर्वार्तामा फ्रेडरिक्सनले अमेरिकाले कुनै पनि नेटो सदस्य देशविरुद्ध सैन्य कारबाही गरेमा सम्पूर्ण नेटो प्रणाली ध्वस्त हुने चेतावनी दिएकी हुन् ।
फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड, स्पेन र बेलायतका नेताहरूले पनि ग्रिनल्याण्ड आफ्ना जनताको भएको स्पष्ट बताएका छन् । ग्रिनल्याण्डको बारेमा कुनै पनि निर्णय लिने अधिकार केवल ग्रिनल्याण्ड र डेनमार्कलाई मात्र रहेको उनीहरुको भनाई छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आइतबार ग्रीनल्याण्डलाई आफूमा गाभ्ने बारेमा कुरा गरेपछि यो विषय फेरी चर्किएको छ । भेनेजुएलामा भएको आक्रमणको बारेमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले २० दिनमा ग्रिनल्याण्डको बारेमा छलफल गर्ने बताएका थिए ।
उनले पहिले पनि ग्रिनल्याण्डलाई अमेरिकी नियन्त्रणमा ल्याउने बारेमा धेरै पटक बोलिसकेका छन् । ग्रिनल्याण्ड डेनमार्कको स्वायत्त क्षेत्र हो, जुन नेटोको पनि हिस्सा हो । ट्रम्पले सैन्य कारबाहीको सम्भावनालाई पनि अस्वीकार गरेका छैनन् ।

डेनमार्क र ग्रिनल्याण्ड डेनमार्क राज्यको हिस्सा हुन् । डेनमार्क राज्य र संयुक्त राज्य अमेरिका दुवै नाटोका सदस्य हु न्। नाटोले यी देशहरूको सार्वभौमिकता र सुरक्षाको ग्यारेन्टी दिन्छ । यस सन्धि अन्तर्गत, एउटा सदस्य देश विरुद्धको सैन्य कारबाहीलाई सम्पूर्ण गठबन्धनमाथि आक्रमण मानिन्छ । अमेरिकाको डेनमार्क र ग्रीनल्याण्डसँग घनिष्ठ सम्बन्ध छ । डेनमार्क नाटोको संस्थापक सदस्य हो । १९५१ को रक्षा सम्झौताले संयुक्त राज्य अमेरिकालाई ग्रीनल्याण्डमा सैन्य आधार कायम राख्न अनुमति दिन्छ । दुवै देशले सुरक्षा, विज्ञान, वातावरण र व्यापारमा सहकार्य गर्छन् ।

यसैबीच ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स(फ्रेड्रिक निल्सनले अमेरिकी राष्ट्रपतिले ग्रीनल्याण्डलाई भेनेजुएलासँग जोडेर सैन्य हस्तक्षेपको बारेमा गरेको कुरा गलत मात्र होइन हाम्रा जनताको लागि अनादरपूर्ण पनि भएको प्रतिक्रिया दिएका छन् । निल्सनले भनेका छन्, ‘म सुरुदेखि नै शान्त र स्पष्ट रूपमा भन्न चाहन्छु, आतंक वा चिन्ताको कुनै कारण छैन ।’

धेरै प्रमुख युरोपेली देशका नेताहरूले ग्रीनल्याण्डको बारेमा संयुक्त विज्ञप्ति जारी गरेका छन् । फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड, स्पेन, बेलायत र डेनमार्कका नेताहरूले आर्कटिक क्षेत्र (ग्रिनल्याण्ड वरपरको क्षेत्र) को सुरक्षा युरोपको लागि महत्त्वपूर्ण छ र यसले विश्वव्यापी सुरक्षालाई असर गर्छ गर्ने बताएका छन् ।

नेताहरूले नाटोले पहिले नै आर्कटिक क्षेत्र यसको लागि महत्त्वपूर्ण रहेको बताएको छ भन्दै फलस्वरूप, युरोपेली देशहरूले त्यहाँ आफ्नो उपस्थिति बढाइरहेको उल्लेख गरेका छन् । आर्कटिक सुरक्षित गर्न र कुनै पनि खतरालाई रोक्न थप गतिविधिहरू र लगानीहरू गरिँदै छन्। ग्रीनल्याण्डसँगै डेनमार्क पनि नाटोको हिस्सा हो ।

भेनेजुएलामा अमेरिकी कारबाहीको लगत्तै, ह्वाइट हाउसका वरिष्ठ अधिकारी स्टीफन मिलरकी श्रीमती केटी मिलरले सामाजिक सञ्जालमा अमेरिकी झण्डाले रंगिएको ग्रीनल्याण्डको नक्सा पोस्ट गरिन्, जसले विवादलाई अझ चर्काएको छ । मिलरले आफ्नो पोस्टको क्याप्सन लेखेकी छन्, ‘चाँडै ।’ यसले ग्रीनल्याण्ड र डेनमार्कको अमेरिकी विलयको डर बढाएको छ । ट्र
म्पले लामो समयदेखि राष्ट्रिय सुरक्षा, खनिज स्रोत र आर्कटिक क्षेत्रमा रुस-चीन गतिविधिहरूलाई उद्धृत गर्दै ग्रीनल्याण्डको अमेरिकी विलयको वकालत गर्दै आएका छन् । मार्चको सुरुमा, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ग्रीनल्याण्डमा रहेको अमेरिकी सैन्य अड्डा भ्रमण गरे र डेनमार्कलाई त्यहाँ कम लगानी गरेको आरोप लगाएका थिए ।
FACEBOOK COMMENTS