काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका कर्मचारीलाई आन्दोलन रोक्न निर्देशन दिएका छन् ।
आइतबार पर्यटन मन्त्री किरातीले निगमको ग्राउण्ड ह्याण्डलिङ सेवा यथावत रहने प्रतिबद्धता जनाउँदै निगम कर्मचारीलाई आन्दोलन रोक्न निर्देशन दिएका हुन् ।
निगमका सम्पूर्ण क्रियाशील ट्रेड युनियनलाई आइतबार पत्र पठाउँदै आन्दोलन रोक्न निर्देशन दिएको पर्यटन मन्त्रीका निजी सचिवालयका शाखा अधिकृत कृष्णप्रसाद भट्टराईले जानकारी दिए ।
उक्त पत्रमा नेपाल वायुसेवा निगमको भूमिस्थ प्रवन्ध सेवाका सम्बन्धमा औपचारिक रुपमा मन्त्रालयमा कुनै छलफल तथा आधिकारी निर्णय नभएको उल्लेख छ ।
उक्त विषयमा निगमको समग्र सुधारमा केन्द्रीत हुँदै उच्चतम प्रतिफल र नतिजालाई मुख्य आधार बनाएर काम गर्न कर्मचारीलाई मन्त्री किरातीले निर्देशन दिएको उल्लेख छ ।
मन्त्री किरातीले सम्पूर्ण क्रियाशील ट्रेड युनियनहरुले सञ्चालन गरेको आन्दोलनका सबै गतिविधि रोकेर तत्कालै काममा र्फकन निर्देशन दिएको पत्रमा उल्लेख छ ।
हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले मंसिर १५ गते वायुसेवा निगमले हालसम्म एकाधिकार पाएको त्रिभुवन विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवा खोस्ने गरी निर्णय गरेको थियो ।
प्राधिकरणले अब उक्त सेवामा प्रतिस्पर्धा गराउने निर्णय गरेपछि निगमको प्रमुख आम्दानीको स्रोत मानिएको सेवा खोसिने भएपछि निगम कर्मचारीले १२ दिनदेखि आन्दोलन गरिरहेका छन् ।
वायुसेवा निगमले हालसम्म ग्राउण्ड ह्याण्डलिङ सेवामा १० अर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको दाबी छ । यस्तो लगानीबाट त्रिभुवन विमानस्थबाट मात्रै यसले बार्षिक करीब ४ अर्ब रुपैयाँ आम्दानी गर्छ ।
निगमले विमानस्थलमा यात्रुलाई जहाजसम्म पुर्याउने र यात्रुको सामान व्यवस्थापन गर्ने अर्थात ग्राउण्ड ह्याण्डलिङ सेवा दिन्छ । निगले हाल नेपालमा उडान गरिरहेका ३० वटा अन्तर्राष्ट्रिय उडानका वायुसेवामध्ये एयर इन्ण्डियाबाहेक सबैलाई उक्त सेवा दिँदै आएको छ ।
FACEBOOK COMMENTS