बैतडी । गोली प्रहारबाट सख्त घाइते भएका दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको छ ।
गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्रको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । सुरेन्द्रलाई दाजु नाता पर्ने ४० वर्षीय कर्णबहादुर विष्टले गए राति गोली प्रहार गरेका थिए ।
शनिबार राति करिब ८ बजे लेनदेनका विषयमा कर्णबहादुर र सुरेन्द्रबीच गाउँमै विवाद भएको थियो । लगत्तै कर्णबहादुरले सुरेन्द्रमाथि गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक बडूले बताए । गोली प्रहार गर्ने कर्णबहादुर फरार छन् । उनको खोजी तथा घटनाको थप अनुसन्धान भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बडू, इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउद तथा खोचलेक प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक गणेश कडायत नेतृत्वको टोली घटनास्थलमा खटिएको छ ।
FACEBOOK COMMENTS