काठमाडौं । गुण एयरलाइन्सले आज शुक्रबरदेखि आफ्नै ब्रान्डबाट नियमित उडान शुरू गर्ने भएको छ । शुक्रबारदेखि काठमाडौं–भरतपुर र काठमाडौं–पोखरा गरी दुईओटा गन्तव्यबाट उडान गर्दैछ । गुण एयरलाइन्सले १ अर्बभन्दा बढी लगानीमा पाँचओटा जहाज थपेको छ ।
सन् २००९ मा स्थापना भएको गुण एयरलाइन्समा वित्तीय समस्या देखिएपछि सन् २०१३ मा निजीक्षेत्रकै सिम्रिक एयरलाइन्सले एक्वायर (अधिग्रहण) गरेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिके श्रेष्ठका अनुसार पुरानै ब्रान्डलाई पुनः प्रयोग गरेर कम्पनीले हवाई सेवालाई निरन्तरता दिन लागेको हो
यसअघि सिम्रिक एयरबाट चारओटा जहाजले उडान गर्दै आएकोमा अहिले दुईओटा जहाज गुणकै नाममा आएको छ । तर, दुईओटा जहाज भने अर्को अपरेटर कम्पनीलाई उपलब्ध गराएको श्रेष्ठले बताए । यति एयरलाइन्ससँग खरीद गरेका पाँचसहित सातओटा जहाजबाट हवाई सेवा पुनः गुण ब्रान्डबाट शुरू गर्न लागिएको जानकारी दिए । बिचक्राफ्टको सीट क्षमता १८ र जेट स्ट्रीमको सीट क्षमता २९ रहेको छ । यिनै जहाजबाट कम्पनीले उडान गर्नेछ ।
FACEBOOK COMMENTS