विराटनगर । सुनसरीको कोसी गाउँपालिका–१ लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएपछि उत्पन्न तनाव अन्त्य गर्न पीडित परिवार र स्थानीय प्रशासनबीच सहमति भएको छ ।
सुनसरीका प्ररहरी उपरीक्षक एसपी केशव कुमार थेवेका अनुसार, पीडित पक्षसँगको वार्तामा घटनाको छानबिन गर्ने र पीडित परिवारलाई राहत र रोजगारीमा सहयोग गर्ने सहमति भएको छ ।
सहमतिअनुसार, घटनाको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति गठन गरिनेछ । मृतक साह घरको एक्लो कमाउने व्यक्ति भएकाले उनका परिवारको आर्थिक अवस्थालाई ध्यानमा राख्दै, उनको श्रीमतीलाई उपयुक्त रोजगारीको व्यवस्था गर्न प्रशासनले पहल गर्ने सहमति भएको छ ।
यसैगरी, मृतकका छोराले भविष्यमा सशस्त्र प्रहरी बलमा भर्ना हुन चाहेको खण्डमा, उनले आवश्यक योग्यता पूरा गरेमा कानुनी प्रक्रियाअनुसार आवश्यक सहजीकरण गरिने आश्वासन प्रशासनले दिएको छ ।
यी सहमतिसँगै पीडित परिवारले शवको पोस्टमार्टम गर्न र शव प्रहरीलाई हस्तान्तरण गर्न मन्जुरी दिएका छन् । बुधबार राति करिब १ बजे भारतबाट सामान ल्याउँदै गर्दा सशस्त्र प्रहरीले गोली चलाएर साहको मृत्यु भएको थियो । सशस्त्रले तस्करको समूहसँगको झडपमा गोली चलेको दाबी गरे पनि स्थानीयवासीले निहत्था व्यक्तिमाथि गोली प्रहार भएको भन्दै विरोध प्रदर्शन गरेका थिए ।

आक्रोशित भीडले लौकहीस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) चारैतिरबाट घेरी ढुंगामुढा र आक्रमण गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । स्थिति नियन्त्रणबाहिर जान लागेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । स्थानीय प्रशासनले संयमता अपनाउन र वार्तामा आउन आग्रह गरेपछि यो सहमति भएको हो, जसले लौकही क्षेत्रमा तनाव कम हुने अपेक्षा गरिएको छ ।

FACEBOOK COMMENTS