काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले राजीनामा दिएका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा मंगलबार बोल्दै सांसद शाहीले घुसको अडियो टेप प्रकरणमाथि कडा आक्रोश व्यक्त गर्दै राजीनामाले मात्रै समस्या नसमाधान हुने दाबी गरे । उनले गुप्तामाथि कानुनी कारबाही हुनुपर्नेमा जोड दिएका छन् ।
‘देश आज भ्रष्टाचारीको देश भनेर चिनिन थालेको छ,’ शाहीले भने, ‘खुला रूपमा मन्त्री क्वाटरफाइनलसम्म पैसा लेनदेन भएको अडियो बाहिर आएको छ, तर मन्त्रीले राजीनामा दिएको भरमा मात्रै यो प्रकरण सकिँदैन ।’
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायले यस्ता प्रकरणमा किन चुप बसिरहेको भन्ने प्रश्न पनि उठाए । ‘हामीले अख्तियार किन बनाएका हौं ? अख्तियार के हेरेर बसेको छ ? मन्त्रीले राजीनामा दिएर मात्रै पन्छिन पाइँदैन, उनलाई तत्काल पक्राउ गरी निष्पक्ष छानबिन गरिनुपर्छ,’ शाहीको भनाइ छ ।