काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिडी पावर कम्पनीका संचालक समितिका अध्यक्ष गुरुप्रसाद न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानलाई कारवाही गर्ने निर्णय गरेको छ ।
धितोपत्र बोर्ड सञ्चालक समितिको मंसिर २५ गते बसेको बैठकले रिडी पावरका अध्यक्ष न्यौपाने र नेपाल हाइड्रो डेभलपर्सका अध्यक्ष प्रधानले अवैध रुपमा शेयर कारोबार गरेको भन्दै उनीहरुलाई कारबाही गर्ने निणर्य गरेको हो ।
न्यौपाने र प्रधान अहिले समितिमा नरहे पनि उनीहरु समिति सदस्य हुदाहुदै शेयर कारोबार भएको बोर्डले जनाएकाे छ ।
दुवैले कानुन विपरीत शेयर कारोबार गरेको भन्दै बोर्डको विभागीय स्तरबाट हदैसम्मको कारवाही गर्ने सिफारिस भएपछि बोर्डको सञ्चालक समितिले दुवैलाई स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
धितोपत्र ऐनको दफा १०१ को उपदफा ७ बमोजिम २५ हजारदेखि ७५ हजार रुपैयाँसम्म नगद जरिवाना र १० वर्षसम्म सञ्चालक समितिमा बस्न नपाउने नियमन रहेको छ ।
प्रधानले कम्पनीको अध्यक्ष पद छाड्नसाथ नियम विपरीत श्रीमती, छोरा र छोरीको नाममा रहेको ६ करोड रुपैयाँभन्दा बढी मूल्यको शेयर बिक्री गरेका थिए ।
रिडी पावरका अध्यक्ष रहँदा न्यौपानेले १९ चैत २०७७ देखि ४ भदौ २०७८ सम्म रिडी हाइड्रोपावरको २८ हजार ९५३ कित्ता शेयर किनेर ३९ हजार २२३ कित्ता शेयर बेचेका थिए ।
न्यौपानेले र उनको परिवारका सदस्यले उक्त कम्पनीको शेयर दोस्रो बजारमा कानून विपरीत बेचेको भन्दै ६ पुस २०७८मा नै कारबाही सिफारिस प्रतिवेदन बुझाएको थियो ।
FACEBOOK COMMENTS