काठमाडौं । ललितपुरको ग्वार्कोमा बनाइएको नेपालकै पहिलो फ्लाइओभर आज उद्घाटन गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उद्घाटन गरे । काठमाडौंको चक्रपथ सडकअन्तर्गत कलङ्की–कोटेश्वर खण्डको ग्वार्काेमा निर्माण सम्पन्न गरिएको फ्लाइओभर आज एसएसपी अधिकारीले उद्घाटन गरेका हुन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित फ्लाइओभर उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीको पनि सहभागिता थियो ।
इञ्जिनीयरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपीसी) ढाँचामा सात करोड छ लाख ८८ हजार रुपैयाँ लागतमा आशिष समानान्तर रेलिगेर जेभीद्वारा निर्माण भएको यो फ्लाइओभर नेपालकै पहिलो हो । कुल पाँच सय मिटर अप्रोच सडक रहेको यसमा ३५ मिटर स्पानको ४ लेन पुल निर्माण भएको छ । ग्वार्काे चोकको ट्राफिक जामलाई हटाउन २०७८ सालमा यसको निर्माण आरम्भ भएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले यस प्रकारको पहिलो फ्लाइओभर निर्माण भई उद्घाटन हुन खुसीको कुरा हो भन्दै अब ग्वार्काेमा सवारी जामको समस्या समाधान भएको बताए । उनले सरकारले बहुआयामिक र चौतर्फी ढंगले विकास अगाडि बढाएकाले यसमा सबैको साथ रहने विश्वास व्यक्त गरे ।
उनले भने, ‘हामी विकासको बाटोमा लगातार अगाडि बढिरहेका छौँ । हिजो दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास रहेको प्रमाणित भयो । तीन वटा कुवामध्ये एउटा कुवाबाट त्यति ग्यास पैदा हुन्छ । त्यसको उत्खनन्को सुरुवात पनि मैले नै गरेको थिएँ । धौवादी फलाम कारखाना सुरु भएपछि नेपालमै फलाम उत्पादन भई देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउनेछ । यसरी विकास हुँदा विदेश जाने मुद्रा नेपालमै रहन्छ । ठुलो आर्थिक लाभ र स्वदेशमै रोजगारी मिल्नेछ । अरु खनिजको उत्खनन् गर्नेछौँ । कृषिको आधुनिकीकरण गर्नेछौँ । नयाँ उद्योग स्थापना, सामाजिक र प्रशासनिक सुधार गरेर देशलाई अगाडि बढाउनेछौँ । हामीले कुनै पनि हालतमा निराशा र असन्तुष्टि व्यक्त गर्नु हुँदैन । आशा र सम्भावनालाई पहिल्याउँदै जानुपर्छ ।’
सुनकोशी मरिन डाइभर्सन आयोजना र हुलाकी राजमार्गले तराईको मुहार फेर्ने र मेची महाकालीको कायाकल्प गर्ने बताउँदै उनले देशले गति लिन चाहेको अवस्थाका रुपमा अगाडि बताए । उनले मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्ग र अन्य धेरै आयोजनाले गति लिने बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार उद्घाटनपछि ओभरपासलाई सवारी आवागमनका लागि खुला गरिने छ ।
FACEBOOK COMMENTS